पालिकाको काममा जाने क्रममा रोकेको गाडीको फोटो खिचेर भ्रम नछरौँ : केराबारीका उपाध्यक्ष मगर


केराबारी । केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगर भन्छिन्, “सामाजिक सञ्चालनमा चरित्र हत्या गर्न भ्रमित पोस्ट नगर्न आग्रह गर्छु, पालिकाको काममा जाने क्रममा एक छिन खाजा खानलाई रोकेको गाडी खिचेर भ्रम नछरौँ ।” सामाजिक सञ्जालद्वारा पालिकाको गाडीको दुरुपयोग भएको आरोप लागे पछि उपाध्यक्ष मगरले चरित्र हत्या गर्ने गरी भ्रम नछर्न बताएकी हुन ।

उपाध्यक्षले पालिकाको कामकाजको लागि प्रयोग गर्ने को १ झ ५९५ गाडी वैशाख १ गते शुक्रवार धनकुटाको तमोर मुलघाटमा बिदाको दिन भेटिएको तस्बिरसहित केराबारी सरोकार नाम गरेको एक फेसबुक आइडीद्वारा स्टाटस सार्वजनिक भएको थियो । उक्त स्टाटसमा फेसबुक प्रयोग कर्ताहरूले आलोचना गर्दै वास्तविकता बारे चासो राखेका छन् । सोही विषयमा कोशी नेपालले उपाध्यक्ष मगरलाई प्रश्न गर्दा भ्रम छरिएको बताउँदै, सम्बन्धित व्यक्तिलाई त्यसो नगर्न आग्रह गरेकी हुन ।

केराबारी सरोकार नाम गरेको फेसबुक आइडीबाट स्टाटस सार्वजनिक गर्दै पालिकाको गाडी दुरुपयोग गरेको आशयले चरित्र हत्या गर्ने कोसिस गर्दै भ्रम छरेको उपाध्यक्ष मगर बताउँछिन् । स्टाटसको आशय अनुसारको कुनै दुरुपयोग नगरेको मगरको दाबी रहेको छ । उनी भन्छिन्, “आमजनताले हामी जनप्रतिनिधिको गतिविधिमा चासो राखेको र प्रश्न गर्नु वहाँहरूको अधिकार हो, गर्नु पनि पर्छ तर नियोजित रूपमा एक प्रसङ्गलाई कुनै अनर्थ लाग्ने गरी भ्रम छर्न पाइँदैन ।”

न्याय सम्पादन सम्बन्धी तथा लैङ्गिक नीति निर्माण सम्बन्धी तेह्रथुमको लालीगुराँस नगरपालिकाको न्याय समितिको सम्पादन अवलोकन तथा अध्ययनको लागि जाने क्रममा खाजा खान तमोरमा गाडी रोकेको उनी बताउँछिन् । सार्वजनिक बिदामा कसरी लालीगुराँस नगरपालिका खुल्ला रह्यो भन्ने प्रश्न गर्दा उपाध्यक्ष मगरले भनिन, “बिदा भएता पनि लालीगुराँस उपाध्यक्षसँग सम्पर्क गरेर गएकी थिए । तर यहाँ बढी नियोजित पूर्वक भ्रम फैलाइएको छ ।”

प्रतिक्रिया दिनुहोस्