आत्महत्या गर्ने केन्द्र बन्दै कोसी ब्यारेज : प्रहरीले ८ महिनामा १८ जनाको उद्धार गरे


सुनसरी । सप्तकोसी नदी आत्महत्या गर्नेको प्रमुख थलो बन्न थालेको छ । स्थानीय उमेश कुमार शाह भन्छन्,‘मैले २, ३ चोटि आत्महत्या गर्न कोसीमा हम्फालेको मानिसलाई बचाएको छु । ४० देखी ८० वर्षसम्म उमेरको मानिसहरू आत्महत्याको प्रयास गरेको देखेको छु ।’

इनरुवा नगरपालिका वडा नं.८ निवासी उमेशले कोसी ब्यारेजबाट आत्महत्या गर्ने मानिस प्रत्यक्ष देखेको बताउँछन् । उनले केहीको उद्धार पनि गरेका रहेछन् । उद्धार गरेको मध्य करिब ५५ वर्षका एक पुरुषको आत्महत्या प्रयासको कारण पनि उमेशले बताए । उमेशका अनुसार उक्त पुरुषले घरमा छोराबुहारीबाट हेला भएको कारण आत्महत्या गर्ने प्रयास गरेका थिए ।

(स्थानीय – उमेश कुमार शाह)

आत्महत्याको प्रयास गर्ने मानिसहरू कोसी ब्यारेजमा देख्न पाइरहने र आफू धेरै पटक देखेको उमेश बताउँछन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले पनि करिब ८ महिनामा १८ जनाको उद्धार गरेको छ । ७ जना पुरुष, ८ जना महिला, २ बालिका र १ बालकलाई प्रहरीले बचाउन सफल भएको हो ।

सुनसरी र सप्तरी जिल्लाको बिचमा रहेको सप्तकोसी नदीको पूर्वपश्चिम जोड्ने पुललाई कोसी ब्यारेज भनिन्छ । आत्महत्या प्रयास गर्ने वा गरेको बढ्दो संख्यालाई देखेर जिल्ला प्रहरी कार्यालय सुनसरीले २४ औँ घण्टा प्रहरी गस्ती बढाएको छ ।

आमाले आफूसँगै अबोध छोराछोरीलाई पनि मृत्यु रोजाएको घटना सुन्दा अचम्म लाग्न सक्छ । तर कोसी ब्यारेजमा यस्तो घटना सुन्न र देख्न नै पाइन्छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता नायव उपरीक्षक राजकुमार राईका अनुसार एक जना महिलाले आफ्नो २ छोरी र १ छोरासहित आत्महत्याको प्रयास गरेका थिए । तर प्रहरीले बेलैमा उद्धार गर्न सफल भए । प्रहरीको कडा निगरानी नभएको भए आमासँगै अबोध ३ नाबालकले ज्यान गुमाउँथे ।

(नायव उपरीक्षक राजकुमार राई)

राईका अनुसार उक्त महिलालाई सोधपुछ गर्दा घरेलु हिंसा सहन नसकेको कारण आत्महत्याको प्रयास गरेकी रहेछिन् । आत्महत्या प्रयास गर्ने मानिसहरू घरेलु हिंसा, आर्थिक अभाव र विभिन्न कारण डिप्रेसनमा परेका पीडित पाइएको राईले बताए ।

कोसी ब्यारेज आत्महत्या गर्न वा कुनै आपराधिक कार्य पश्चात् शव लुकाउने प्रमुख थलो बन्दै गएको राई बताउँछन् । राई भन्छन्, ‘कोसी ब्यारेजबाट खोलामा हम्फाले पछि मृत्यु निश्चित हुने भएकोले आत्महत्या गर्न र फालेको शव भेटिन असम्भव जस्तै हुने भएकोले अपराधीहरूले पनि कोसी रोजेको देखियो ।’

यस्तो अप्रिय गतिविधिलाई रोकथाम तथा न्यूनीकरण गर्न जनचेतना कार्यक्रम तीव्र रूपमा गरिरहेको राई बताउँछन् । प्रहरीले उद्धार गरेका मानिसहरूमा ९५ प्रतिशत डिप्रेसनको कारण आत्महत्याको प्रयास गरेको अनुसन्धानबाट देखिएको राईले बताए । उनी भन्छन्, ‘बेलैमा डिप्रेसन बिरामीको उपचार र परिवारको राम्रो हेरचाह भए सायद आत्महत्या गर्ने सोच आउँदैन थियो होला ।’

प्रतिक्रिया दिनुहोस्