सगरमाथा इङ्लिस स्कुलको २८ औँ अभिभावक दिवस कार्यक्रम सम्पन्न


बेलबारी । बेलबारी नगरपालिका वडा नं.१ मा रहेको सगरमाथा इङ्लिस स्कुलको २८ औँ अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार विद्यालयले आफ्नै प्राङ्गणमा २८ औँ अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख नितु थापाले बेलबारी नगरपालिकामा छिमेकी पालिकाको भन्दा शिक्षा क्षेत्रको अवस्था कमजोर देखिएको बताउँदै, गुणस्तर शिक्षामा ध्यान दिन सबै शैक्षिक संस्थालाई आग्रह गरेकी छिन । सामुदायिक र संस्थागत दुवै शैक्षिक संस्थामा विद्यार्थीको भविष्यलाई लिएर कुनै पनि लापरबाही छुट नपाउने उपप्रमुख थापाले बताइन । गुणस्तर शिक्षाले मात्र बेलबारीको उज्ज्वल भविष्य निर्माण हुने बताउँदै, सबै शैक्षिक संस्थामा नगरपालिकाले कडा भन्दा कडा निगरानी गर्ने थापाले बताएकी छिन ।

कार्यक्रममा विद्यार्थीद्वारा तयार गरिएको विज्ञान शिक्षा, हस्तकला, चित्रकलाको प्रदर्शनी रहेको थियो । आधारभूत साथै माध्यमिक दुवै तहका विद्यार्थीहरूले सांस्कृतिक नृत्य, कला प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न शैक्षिक तथा सामाजिक संस्थाका प्रतिनिधि साथै अभिभावकहरूको उपस्थिति रहेको थियो ।

विद्यालयले कार्यक्रममा विभिन्न विधामा विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेको छ । कार्यक्रमको उद्घोष विद्यार्थी आफैले गरे । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार राईको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्