फरार सांसद लक्ष्मी महतो कोइरी निलम्बित


काठमाडौं । नेकपा (एमाले) का फरार सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् । सभामुख देवराज घिमिरेले कोइरीलाई निलम्बन गरेको उनको सचिवालयले जनाएको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम सांसद कोइरीलाई मङ्गलवार निलम्बन गरेका हुन् । अहिले प्रतिनिधिसभाको बैठक चलेको छैन । तर सभामुख घिमिरेको निर्देशनअनुसार सङ्घीय संसद् सचिवालयले मङ्गलवार सूचना टाँसेर कोइरी निलम्बनमा परेको जानकारी दिएको हो ।

दोस्रो पटक प्रहरीको पत्र पाएपछि सभामुख घिमिरेले हत्या अभियोग लागेका कोइरीलाई निलम्बन गरेका हुन् । प्रहरीले आइतबार सभामुख घिमिरेलाई कोइरी पक्राउमा सहयोग गर्न माग गर्दै दोस्रो पटक पत्र पठाएको थियो । सशस्त्र प्रहरीका असई तमन विकको हत्या आरोप लागेका कोइरी लामो समय संसद्मा अनुपस्थित छन्।

गत वैशाख १५ गते बसेको संसद् बैठकमा सभामुख घिमिरेले कोइरी उपचारमा रहेको भन्दै अनुपस्थितको बिदा स्वीकृत गराउन खोजेका थिए । तर, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उनी फरार अपराधी भएकाले बिदा दिन नसक्ने अडान लिएपछि संसद् बैठक अवरुद्ध भएको थियो । त्यही दिन सभामुखले कोइरीको उपचार बिदा दिने प्रस्ताव अस्वीकृत भएको घोषणा गर्दै कोइरीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि संसद् बैठक पुनः सञ्चालन भई संसद् अधिवेशन अन्त्य गरिएको थियो ।

महोत्तरी क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कोइरी सशस्त्र प्रहरी थमन विक हत्याका अभियुक्त हुन् । मधेश आन्दोलनका बेला २०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो ।

उक्त घटनामा संलग्न अभियोग लागेका कोइरीसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा चलेको थियो । उच्च अदालत जनकपुरले उनलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । उनलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि एक लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । पुनरावेदनपछि उच्च अदालत जनकपुरबाट पुर्पक्षका लागि थुनामै राख्न आदेश भएको थियो । सो आदेशपछि भने उनी फरार छन् ।

प्रतिक्रिया दिनुहोस्