बेलबारी र केराबारी जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न : लागत रु.२ करोड ६ लाख


बेलबारी । बेलबारी नगरपालिका वडा नं.१ र केराबारी गाउँपालिका वडा नं.९ जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न पछि बिहीबार औपचारिक रूपमा उद्घाटन भएको छ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले उद्घाटन गरेका हुन ।

कार्यक्रमका प्रमुख अतिथि लिम्बुले बेलबारी र केराबारीको विकासको गर्न सक्ने काम र पहलमा कुनै कमी नहुने प्रतिबद्धता गरेका छन् । बढी भन्दा बढी प्रतिफल दिने ठाउँमा बेलबारी र केराबारीले पहिचान गरी लगानीमा प्राथमिकता दिन आग्रह गरेका छन् । झोलुङ्गे पुलको सफल निर्माण कार्य सम्पन्न जस्तै अरू पालिकाले सिक्ने गरी अन्य विकास निर्माण कार्यमा दुवै पालिकाले समन्वयन गरेर काम गर्न लिम्बुले आग्रह गरेका छन् ।

बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई र केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मगरले मन्त्री लिम्बुलाई विकास कार्य योजना निर्माणमा दुई पालिकालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । बेलबारीका नगर प्रमुख राईले झोलुङ्गे पुल निर्माण कार्य सम्पन्नसँगै दुई पालकालाई जिम्मेवारी थपिएको बताएका छन् । झोलुङ्गे पुलको लागि कियर टेकरको व्यवस्थापन गर्नु पर्ने राईले बताए । कियर टेकरको व्यवस्थापन दुई पालिका मिलेर चाडै गर्ने राईले बताएका छन् ।

केराबारी ९ का वडा अध्यक्ष गोपाल याक्खाका अनुसार झोलुङ्गे पुल संघिय सरकारको आर्थिक सहयोगमा रु.२ करोड ६ लाखमा सम्पन्न भएको हो । बेलबारी वडा नं.१ का अध्यक्ष मणि मगरले झोलुङ्गे पुल निर्माण सम्पन्नले केराबारी र बेलबारी दुवै पालिकाका स्थानीयलाई आवतजावतमा धेरै सहज भएको बताउँछन् ।
लोहोन्द्र खोलाको बाढी बर्खा महिनामा आउँदा आवतजावत गर्न जोखिमपूर्ण हुन्छ अथवा लामो धुरीको यात्रा गर्नु पर्ने हुन्छ तर अब त्यो बाध्यता र सास्तीबाट मुक्त भए पछि स्थानीयहरू खुसी भएको दुवै वडा अध्यक्ष बताउँछन् । निर्माण समय अवधिभन्दा अगाडी सम्पन्न गरेकोले ठेक्का लिएको कम्पनीलाई मन्त्री लिम्बुद्वारा सम्मान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्