दुई थान पेस्तोलसहित धरानका ३ जना युवा पक्राउ


सुनसरी । विवरण नखुलेको दुई थान पेस्तोलसहित ३ जना पक्राउ गरेको छ । धरान उपमहानगरपालिका वडा नं.१७ डाँडा घोपाका २९ वर्षका हुकमेन जिमी, वर्ष २४ का दीपक जिमी र वडा नं.१५ सहिद मार्गका वर्ष २४ का रोहित राई आइतबार पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हतियारसहित उक्त ३ जनालाई इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक देउमान लिम्बूको नेतृत्वमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेका हुन ।

हुकमान राईको घरबाट पश्चिम तर्फ रहेको सर्दु खोलामा दीपकले झाडीमा रातो बजारे झोलामा लुकाई राखेको अवस्थामा विवरण नखुलेको एक थान पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । त्यसै गरी रोहितको सुत्ने कोठामा बक्स पलाङमा लुकाई रहेको १ थान पेस्तोल प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेको युवाहरूलाई मुलुकी ऐन अपराध संहिता २०७४ को परिच्छेद ६ को हातहतियार तथा खरखजना सम्बन्धी कसुर अन्तर्गत सुनसरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्