लडाकु शिविर घोटाला, बालुवाटार जग्गा, सिसिटिभी फुटेज प्रकरणको पनि छानबिन होस : शंकर पोखरेल


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरण निष्पक्ष रूपमा छानबिन हुनुपर्ने बताएका छन् । आज (बिहीबार) पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालीलाई नक्कली शरणार्थी बनाइ विदेश पठाउन खोज्नु राज्यका विरुद्धको घात भएको भन्दै यस्ता घटनाप्रति राज्य सशक्त भएर काम गर्न आवश्यक रहेको बताए । उनले निर्दोष कसैलाई फसाउने र दोषी उम्किन नदिने गरी छानबिन हुन जरुरी रहेको उल्लेख गरे । लडाकु शिविर घोटाला, बालुवाटार जग्गा प्रकरण, सिसिटिभी फुटेज प्रकरणका बारेमा पनि छानबिन गर्नुपर्ने उनको माग थियो । उनले समाजमा नेता र पार्टीहरू नै खराब हुन् भन्ने भाष्य खडा नगर्न चेतावनी समेत दिए ।

उनले भने, ‘नेपालीलाई नक्कली शरणार्थी बनाइ विदेश पठाउन खोज्नु राज्यका विरुद्धको घात हो, गम्भीर अपराध हो । त्यस अर्थमा यस्ता घटनाप्रति राज्य अत्यन्त शक्त हुनुपर्छ भन्ने पार्टीको मान्यता छ, त्यही आधारमा हामीले सरकारलाई भनेका पनि छौँ । राजनीतिक आग्रह, पूर्वाग्रहका आधारमा होइन, निष्पक्ष छानबिनका माध्यमबाट दोषी कोही नउम्किउन्, निर्दोष कसैलाई फसाउने काम नहोस्, यो मान्यताका आधारमा नक्कली भुटानी शरणार्थीको प्रकरणलाई टुङ्गो लगाउनु पर्छ ।’

उनले भने, ‘नक्कली आरोप लगाउन छोडौँ, कुनै पनि विषयमा आशंका र अविश्वास छ भने छानबिन गरौँ, सबै छानबिनका लागि तयार हुनुपर्छ । शिविर घोटालाका सन्दर्भमा भएको त्यति ठुलो भ्रष्टाचार लुकाउन मिल्दैन, छानबिन गरौँ, बालुवाटार लगायत अनेकौँ प्रकारका घटनाहरूको छानबिन गरौँ । राजश्वका दरहरू हेरफेर गरिकन निश्चित व्यापारिक घरानालाई पोस्ने र राज्यलाई डुबाउने सिसिटिभी फुटेज प्रकरण पनि छानबिन गरौँ, तर समाजलाई नेता र पार्टीहरू नै खराब हुन् भन्ने भाष्य खडा नगरौँ ।’

महासचिव पोखरेलले देशको आर्थिक अवस्था अहिलेको स्थितिमा पुग्नुको कारण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा जिम्मेवारी रहेको उल्लेख गरे । उनले अहिलेको आर्थिक अवस्थाको जिम्मेवारी सत्ता गठबन्धनले लिनुपर्ने बताए ।

उनले आफ्नो पार्टी सरकारमा रहँदा राजश्व नियमित उठ्ने गरेको तर अहिले राजश्व नै उठ्न नसक्नुको कारण माग गरे । उनले वैधानिक अर्थतन्त्र कमजोर पार्न अवैधानिक अर्थतन्त्रलाई प्रोत्साह गर्ने नीति अवलम्बन गरेकै कारणले आज नेपाल आर्थिक सङ्कटमा फसेको दाबी गरे । महासचिव पोखरेलले विद्यार्थी सङ्गठनले देशको शिक्षा प्रणाली परिवर्तनको आन्दोलन थाल्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्