नक्कली भुटानी शरणार्थीमा मुछिएका टेकनाथ रिजाल


काठमाडौं । भुटानी मानव अधिकारवादी टेकनाथ रिजाल नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रिजाललाई बिहीबार झापाबाट काठमाडौं ल्याइएको हो । पछिल्लो समय रिजालले पुनर्वास गराउन बाँकी छ हजार भन्दा बढी भुटानी शरणार्थीको समस्या समाधान गर्न माग गर्दै आएका थिए । उनकै मागका आधारमा गृह मन्त्रालयले भुटानी शरणार्थी समस्या समाधानका लागि ३० जेठ २०७६ मा बालकृष्ण पन्थी नेतृत्वमा कार्यदल गठन गरेको थियो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नताको आरोपमा पक्राउ परेका सानु भण्डारीले आफ्नो डायरीमा रिजाललाई ७ लाख रुपैयाँ दिएको उल्लेख गरेका थिए । उनलाई त्यही आधारमा पक्राउ गरेको प्रहरी स्रोतको दाबी छ । रिजालले भने अर्कै सिलसिलामा पैसा लिएको र आफूले फिर्ता गरिसकेको भन्दै आफूलाई फसाउन खोजेको भनी आपत्ति जनाएका थिए । योसँगै नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ । प्रहरीले पक्राउ परेकाहरुमाथिको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्