बेलबारी ३ मा पाँच दिने उद्घोषण तथा क्षमता विकास तालिम सुरु


बेलबारी । पाँच दिने उद्घोषण तथा क्षमता विकास तालिम बेलबारी नगरपालिका वडा नं. ३ मा सुरु भएको छ । शुक्रवारदेखि वडा कार्यालय भवनमा रहेको नेपाल आदिवासी जनजाति महासंघ बेलबारी नगर समन्वयन परिषद्को सभा हलमा सुरु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा बेलबारी नगरका उपप्रमुख नितु थापा र वडा ३ का अध्यक्ष योगेन्द्र सुवेदीद्वारा संयुक्त रूपमा ब्यानर वाचन गरेर तालिमको खुल्ला सत्रको उद्घाटन भएको थियो । उपप्रमुख थापाले कार्यक्रमको सफलताको शुभकामना प्रदान गर्दै महिलालाई प्राथमिकतामा राख्दै, अधिकार मागसँगै क्षमता अभिवृद्धि अनिवार्य गर्नु पर्ने बताइन ।

सामाजिक, राजनीतिक रूपमा महिलाले नेतृत्व गर्न पुरुषसँगै समानान्तर रूपमा नसकिरहेको नितुले बताइन् । तसर्थ नेतृत्व गर्न सक्ने क्षमता अभिवृद्धिको लागि उद्घोषण तथा क्षमता विकास तालिम जस्ता तालिमले सहयोग पुराउने उनले बताइन् । महिला दिदीबहिनीहरूले समाजमा पुरुषसरह नेतृत्व गरुन् भन्ने चाहना रहेको उनले बताइन् ।

वडाध्यक्ष सुवेदीले सहभागी प्रशिक्षार्थीहरूमा तालिमबाट उद्घोषण कलाको विकास हुनेमा विश्वस्त रहेको बताउँदै, शुभकामना प्रदान गरे । तालिमको पूर्ण उपलब्धि लिन सुवेदीले आग्रह गरेका छन् । कार्यक्रममा पुरुषको भन्दा महिला दिदीबहिनीको उल्लेखित सहभागी रहेको छ । आयोजकका अनुसार वडा नं. १, २, ३ र ४ बाट प्रशिक्षार्थीहरूको सहभागी रहेको छ ।

तालिमको प्रशिक्षक बेतना दैनिक पत्रिकाका सम्पादक नरेन्द्र बस्नेत रहेका छन् । श्रमिक महिला संघ बेलबारी १ की अध्यक्ष इन्दु पौडेल थापाको अध्यक्षतामा कार्यक्रमको खुल्ला सत्र सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्