राष्ट्रपतिबाट आममाफी पाएका रेशमलाल चौधरी कारागारबाट आज रिहा


काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी आज (सोमबार) छुटेका छन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी आज ६ वर्षपछि कारागारमुक्त भएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका रेशमलाई उनकी पत्नी समेत रहेकी भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठसहित नेता–कार्यकर्ताले स्वागत गरेका छन् । रेशम रिहा भएपछि काठमाडौँमा कुनै औपचारिक र अनौपचारिक कार्यक्रम तय भएको छैन । उनी रिहा भए लगत्तै कार्यकर्ताको स्वागतपछि सोझै गृह जिल्ला कैलालीस्थित टीकापुर जाने कार्यक्रम रहेको उनी निकट स्रोतले जनाएको छ । ‘सुरुमा कैलाली जाने र आमाबाट आशीर्वाद लिन खोज्नु भएको छ,’ उनी निकट स्रोतले बतायो ।

कैलालीको जानकी गाउँपालिका– ७ जगतपुरमा स्थित रेशमको घरमा उनकी आमा सुल्फीदेवी लामो समययता रेशमको पर्खाइमा छिन् । मन्त्रिपरिषद्ले आइतबार बिहान रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो । पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको हो ।

यस पटक चौधरीसहित १९ जनाले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ बमोजिम गणतन्त्र दिवसको उपलक्ष्यमा माफी पाएका छन् । २०७२ मा राज्यको पुनर्संरचनाका क्रममा सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलन सुरु भएको थियो । त्यसै क्रममा ७ भदौमा टीकापुरमा हिंसात्मक घटना भयो । उक्त घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।

त्यसको आक्रोशमा भोलिपल्ट रेशमको घर, एफएममा आगजनी भयो । थारु समुदायका ८८ वटा घरमा लुटपाट र आगजनी भयो । सोही घटनाको योजनाकारका रूपमा रेशम चौधरीलाई अदालतबाट जन्मकैदको सजाय भएको थियो । घटनाको योजनाकारको आरोप लागेका उनी त्यसपछि भूमिगत भएका थिए । २०७४ मङ्सिरमा भएको चुनावमा उनी भूमिगत अवस्थामै कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतले विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्