महिला हिंसा न्यूनीकरण तथा स्वास्थ्य सचेतनाका लागि कार्यशाला


उर्लाबारी । उर्लाबारीको दुर्गापुरीमा महिला हिंसा न्यूनीकरण, मनोसामाजिक एवं प्राथमिक उपचार सचेतना सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सोमबार अरनिको माविको सभाहलमा उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेलले कार्यक्रमको उद्घाटन गर्नुभयो । नेपाल सरकारले अन्तर्राष्ट्रिय स्तरमा गरेका विभिन्न प्रकारका सम्झौताहरूलाई स्थानीय तहमा कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने उद्देश्यका साथ गोष्ठी आयोजना गरिएको हो ।

एन्जल फाउण्डेशन उर्लाबारी ८ को आयोजना र उर्लाबारी ८ नम्बर वडाको साझेदारीमा आयोजनामा भएको गोष्ठीमा वडाका सय बढी महिलाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा महिला हिंसाका विभिन्न रूप, नियन्त्रणका पक्ष र जवाफदेहिताकाबारेमा जानकारी गराइएको आयोजक संस्थाका सचिव जयसिंह राजवंशीले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपमेयर पौडेलले महिला भएकै आधारबाट मानव अधिकारको उपभोगमा गरिने विभेद, शारीरिक तथा मानसिक रूपबाट दिइने पीडा, प्रतिबन्धलगायत जुनसुकै तरिकाबाट महिलाको आत्मसम्मानमा पुर्‍याइने सबै किसिमको आघातलाई महिला हिंसाका रूपमा बुझ्नुपर्ने बताउनुभयो ।

विशेष गरेर महिला हिंसा लगायतका विषयमा सरकारले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न समयमा धेरै सम्झौताहरूमा हस्ताक्षर गरे पनि कार्यान्वयनमा आउन नसकेको जनाउँदै ति सम्झौताहरूलाई स्थानीय तहहरूसँग मिलेर अब कसरी कार्यान्वयन ल्याउन सकिन्छ भन्ने उद्देश्यले कार्यशालाको आयोजना गरेको एन्जल फाउण्डेशनकी संयोजक रेखा राईले बताउनुभयो । कार्यक्रममा अधिवक्ता विष्णुकुमारी तामाङ, अर्जुन बास्तोला र राजघाट स्वास्थ्य केन्द्र प्रमुख सन्दीप लिम्बूले सहजीकरण गरेका थिए । कार्यक्रमको औचित्य बारे प्रकाश पार्दै एन्जल फाउण्डेशनका संरक्षक सुनिल धिमालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा संस्थाका सचिव जयसिंह राजवंशीको सञ्चालन रहेको थियो ।

कार्यक्रमकै अवसर पारेर ८ नम्बर वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाइ नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा उर्लाबारी ८ का वडाध्यक्ष कुलबहादुर कार्की, कार्यपालिका सदस्य कल्पना रोका, वडा सदस्यहरू चन्द्रा डाँगी, रुद्रप्रसाद लामिछाने, डम्बर बराल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सभापतित्व रेखा राईले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्