कर फर्छ्यौट आयोग भ्रष्टाचार मुद्दामा चूडामणि शर्मासहित ३ जना दोषी ठहर


काठमाडौं । कर फर्छ्यौट आयोग भ्रष्टाचार मुद्दामा पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल साथै सदस्य सचिव तथा आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई भ्रष्टाचार मुद्दामा कसुर ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले उनीलाई दोषी ठहर गरेको हो ।

उनीहरू विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कर फर्छ्यौट आयोग ऐन, २०३३ ले दिएको क्षेत्राधिकार बाहिर गएर बदनियतपूर्वक करदाताहरूसँग कर फर्छ्यौट सम्झौता गरी सरकारलाई प्राप्त हुने ठुलो मात्राको राजस्व रकम चुहावट गरेर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो । भिन्न कर शीर्षकमा कर बक्यौता रहेकोमा कर फर्छ्यौट आयोगका पदाधिकारीहरूले आपसी कुराकानीलाई मात्र आधार बनाएर कर छुट दिने गरी सम्झौता गरेको आरोप अख्तियारको छ । उनीहरू विरुद्ध एक अर्ब ३३ लाख २० हजार ३२५ रुपैयाँ बराबरको कर छुट गरेर राजस्व चुहावट गरेको आरोप लगाइएको छ ।

महत, ढकाल र शर्माविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम एक अर्ब ३३ लाख २० हजार ३२५ रुपैयाँ बराबर बिगो दाबी गरिएको छ । त्यस्तै, ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) (झ) बमोजिम कैद र दफा ७ बमोजिम जरिबाना माग गरिएको थियो । अख्तियारले ०७८ असार ९ गते मुद्दा दायर गरेको थियो । सजायका लागि अर्को पेसी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्