खानेपानी मुहान संरक्षण गर्न केराबारीमा बृहत् श्रमदान कार्यक्रम सुरु : पालिका अध्यक्ष आफै ढुङ्गा बोक्दै


केराबारी । केराबारी गाउँपालिकामा बृहत् श्रमदान कार्यक्रम सुरु भएको छ । केराबारी १० को बगैँचामा रहेको सुपाडे खोपमा गाउँपालिका र शुभ खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको संयुक्त आयोजनामा खानेपानी मुहान संरक्षणको लागि श्रमदान कार्यक्रम गरिएको हो ।

नवनिर्मित संरचना वर्षातको कारण असुरक्षित र पानी आपूर्तिमा समस्या उत्पन्न हुने भएकोले मरमदको लागि श्रमदान कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मगरकाको सचिवालयका अनुसार करिब १० दिन भित्र मरमद कार्य सम्पन्न हुने छ ।

गाउँपालिकाले १५ थान तारजाली र खाजाको व्यवस्थापन गरेको अध्यक्ष मगरका निजी सचिव विवेक भुजेलले बताए । भुजेलका अनुसार श्रमदान गर्ने करिब ५ सय जनसहभागिता रहेको थियो । पालिका अध्यक्ष मगरसहित श्रमदाताहरू सबैले चाउचाउ र चिउरा खाजाको भरमा श्रमदान गरिरहेको भुजेलले बताए ।

सिङ्गो देश आर्थिक मन्दीको चपेटामा परेको बेला पालिकाको बजेट अपुग भइरहेको बेला आफ्नो पालिका आफै बनाउने सोचको विकास र सामूहिक श्रमको संस्कार बस्ने अध्यक्ष मगर बताउँछन् । अध्यक्ष मगर भन्छन्, ‘म श्रमदाताहरूसँगै खट्ने छु, खाजामा चिउरा खाएरै भए पनि खानेपानीको आपूर्तिको समस्याबाट मुक्त हुनु छ ।’

प्रतिक्रिया दिनुहोस्