काग्रेंसको लागि धिमालको दुर्घटना रहस्यमय : प्रहरीको दाबी ९० प्रतिशत सडक दुर्घटना


खनेन्द्र कुमार राई (अर्जुन) –

मोरङ, २५ कात्तिक / नेपाल तरुण दल मोरङ क्षेत्र नं ८ का तत्कालीन अध्यक्ष महेन्द्र धिमालको दुर्घटना काग्रेंसको लागि रहस्यमय बनेको छ ।

धिमालको दुर्घटनाबारे नेपाली काग्रेंस महासमिति सदस्य ललित श्रेष्ठले रहस्यमय घटना भएको बताएका हुन । श्रेष्ठले घटनाको प्रकृति हेर्दा दुर्घटना नभएर धिमालको ज्यान मार्ने उद्देश्यले अज्ञात समूहबाट साङ्घातिक आक्रमण भएको हुन सक्ने अनुमान गरेका छन् ।

(नेपाल तरुण दल मोरङ क्षेत्र नं ८ का अध्यक्ष महेन्द्र धिमाल)

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख गुनराज बुढाथोकीले नियोजित हमला नभएर ९० प्रतिशत धिमालको दुर्घटना भएको दबी गरेको, श्रेष्ठले बताए । तर दुर्घटना हो वा नियोजित हमला, यसबारे गम्भीर अनुसन्धान हुनु पर्ने काग्रेंसको माग रहेको श्रेष्ठले बताए छन् । धिमालको अहिले नोबेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरमा उपचार भइरहेको छ । धिमालको होस आए पनि बोल्न सक्ने अवस्था नभएको श्रेष्ठले जनाएका छन् ।

( दुर्घटना पछिको अध्यक्ष धिमालको तस्बिर )

धिमाललाई मोरङको सुन्दरहरैचा नगरपालिकाको खोर्साने र केराबारी गाउँपालिका जोड्ने मार्गको बिच जङ्गलमा सोमबार दुर्घटना ग्रस्त अवस्थामा भेटिएको थियो । रक्तमय अवस्थामा भेटिएका धिमाललाई नोबेल उपचारको लागि लगिएको थियो । स्रोतका अनुसार धिमाल केराबारी काम गरेको पैसा लिन गएका थिए ।

नेपाल तरुण दल मोरङका अध्यक्ष प्रभाकर थापा (सञ्जय सिंह) ले पनि साङ्घातिक आक्रमण भएको बताउँछन् । धिमालको शरीरको चोट हेर्दा धारिलो हतियारले प्रहार गरेको हुन सक्ने थापाको दाबी रहेको छ । उनी भन्छन्, ‘शरीर हेर्दा घस्रिएर, ठोकिएर चोट लागेको नभएर धारिलो हतियारको प्रहारले गम्भीर घाइते भएको देखिन्छ ।’

धिमालको दुर्घटना हो वा ज्यान मार्ने उद्देश्यले कुनै अज्ञात समूहले गरेको साङ्घातिक आक्रमण, यो विषयमा प्रहरीले गम्भिरतापुर्वक अनुसन्धान गर्नु पर्ने नेपाली काग्रेंसको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्