अत्यन्त दुखद खबरले मर्माहत बनायो, व्यवस्थित घाट निर्माण कार्य चाडै सुरु हुने छ : मेयर राई


बेलबार । बेलबारीको लोहोन्द्रा खोलाको किनारमा जलाउँदै गर्दा खोलाले बगाएको शव पुनः अन्त्येष्टि गरिएको छ । बगाए लगतै प्रहरी तथा स्थानीयको सहयोगमा खोजतलास गरी खाल्डो खनी पुरी अन्त्येष्टि गरिएको हो ।

बेलबारी वडा नं.३ निवासी मेघराज कोइरालाको आमाको देहान्त पछि शनिवार दाहसंस्कारको क्रममा दागबत्ती दिएको चित्ता आधा नै जल्न नपाउँदै खोलाले बगाएको थियो । यस घटना पछि स्थानीयले शवदाह स्थल निर्माणबारे नगरपालिकासँग प्रश्न गरिरहेका छन् ।

बेलबारी नगरपालिकाका नगरप्रमुख दिल प्रसाद राईले घटनाबारे जानकारी पाए पछि मृतकप्रति श्रद्धाञ्जली प्रदान गर्दै घाट निर्माणको लागि संघ र प्रदेश सरकारको बजेट परिसकेको जानकारी दिएका छन् । वडा नं.३ र ७ मा चाडै निर्माण कार्य सुरु हुने राईले बताए ।

उनले भने, “नगरपालिकाको आर्थिक अभावको कारण व्यवस्थित घाट निर्माण कार्य सुरु हुन सकिरहेको थिएन । तर स्थानीयको माग अनुसारै बेलबारी नगरपालिकाको पहलमा वडा ३ मा सङ्घीय सरकारको ७० लाख र वडा नं. ७ मा प्रदेश सरकारको १ करोड ५ लाख बजेट विनियोजन भइसकेको छ ।” नगरपालिकाको ३० प्रतिशत लागत समेत रहने राईले बताए ।

काम विशेषले नगरप्रमुख राई अहिले काठमाडौँ रहेको जानकारी दिएका छन् । उनले आफ्नो फेसबुक मार्फत पनि मृतकको परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले व्यवस्थित घाट स्थल निर्माण कार्यमा सबै स्थानीय सहभागी भई योजना सफल गरेर उपरान्त कुनै यस्तो घटना हुन नदिऊ भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्