फेरि पनि हामी जित्नेछौ

तारा पराजुली –
बेलबारी, मोरङ / विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि फैलिन सक्ने जोखिम बढेसँगै आममानिस सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने स्थिति सिर्जना भएको छ । सिङ्गो देश लकडाउन गरिएको सन्दर्भमा स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखेर हामी चौबिसै घण्टा क्रियाशील छौँ।कतै सचेत नागरिकको नाताले कतै जनताको जनप्रतिनिधिको नाताले कतै सङ्घ संस्थाको त कतै राज्यका संयन्त्रको नाताले अस्तव्यस्ततालाई सहज बनाउन हामी जस्तोसुकै त्याग गर्न अनि कठोर चुनौतीसँग पनि जुध्दै हिँडिरहेका छौ भिडिरहेका छौँ ।

धेरै चिन्ता पनि नगरौँ बेवास्ता र लापरबाही पनि नगरौँ।यस बेला पर्याप्त विवेकको प्रयोग गरौँ । विश्वको इतिहासमा सन १७२० मा महामारीको रूपमा विश्वभर फैलिएको प्लेग रोग,१८२० मा एसियाली मुलुकमा फैलिएको कोलेरा,१९२० को फ्लु जस्ता महामारीहरूको विश्वले सामना गर्दै आएको छ। हाल २०२० मा चिनको वुहानबाट फैलिएको कोरना भाइरसबाट बच्नका लागि धैर्य र संयम पनि आजका लागि प्राथमिक उपचार हुन् । विश्वमा दिनप्रतिदिन कोरोना भाइरसको सङ्क्रमण र मृत्युदर बढिरहेको छ ।

वास्तवमा यति वेला हामी कोरोना भाइरस(अयखष्म ज्ञढ)को विश्वयुद्ध मैदानमा छौँ । बिरामी भए पनि लजाउनुपर्ने अप्ठ्यारो मानेर लुकाउनुपर्ने विषय होइन । हामी कोही एक जनाले लुकाउन खोज्दा त्यसको असर परिवार समुदाय हुँदै राष्ट्रलाई हुन्छ भन्ने कुरालाई ध्यानमा राख्नुपर्छ । फेरि यो लकडाउनलाई विगतमा राजा ज्ञानेन्द्रले कर्फ्यु लगाउँदा जनबलले तोडेको हाइपोसेन्टरबाट उदाएको गणतन्त्रजस्तो र कुनै राजनैतिक फलप्राप्तिको मुद्दा जस्तो भन्दा बिलकुल भिन्न मुद्दा हो ।

त्यस कारण पनि सरकारको घोषणालाई अक्षरशः पालना गर्न कोही नागरिक चुक्नुहुँदैन । यस बेला जनप्रतिनिधिहरू व्यवस्थापनमा मिहिन ढङ्गले दिनरात नभनी खटिरहेको,हाम्रा स्वास्थ्यकर्मी साथीहरू सेवामा नियमित तल्लीन रहेको राजनैतिक दलहरू,नागरिक समाज,सेवा प्रदायक संस्थाहरूदेखि व्यक्तिहरूसम्म सेवा र सतर्कताका निम्ति सशक्त ढङ्गले लागिरहेको दृश्यले ओझिलो मानवताको सन्देश विश्वभर बांढिरहेको छ । यस सन्दर्भमा आफू बिरामी नहुँदासम्म सेवा सम्झेर आम नागरिकहरूको सक्रियताले युद्ध जित्ने निश्चित छ ।तसर्थ हामी आफू स्वस्थ र सुरक्षित रहन सकेमात्र मुलुक सुरक्षित रहन्छ ।

विश्व रोइरहेको बेला हामीलाई हामीभित्रको नेपालीपन र संवेदनशीलताले ओभानो रहन दिदैंन । हालसम्म नेपाल सुरक्षित रहेकोमा अलिकति खुसी भए पनि थप सङ्क्रमण नफैलियोस् भनी राज्यका सबै संयन्त्र एक ढिक्का भई जुट्न जरुरी छ । नेपाल र विश्वभर रहनुहुने सबै नेपालीहरूमा यस बेला उच्च मनोबलको आवश्यकता छ । हामीले इतिहास भनेर पढ्दै आएका हिजोका विपत्तिको सामना गरेर जीवन जिउँदै आउने हाम्रा बुबा,हजुरबुबा, हजुरमाहरु अझै नआत्तिन सुझाउनुहुन्छ। आत्मबल बटुलौँ।नआत्तिऔँ नडराऔँ । आशावादी बनौँसपहिलो कुरा यो रोग लाग्दैन र लागे पनि अवश्य सन्चो भइन्छ भन्ने उच्च मनोबल बनाउनुको विकल्प छैन ।

सबै नागरिकहरूमा आग्रह र अनुरोध गरौँ हामी यस युद्धमा कोही एक्लो अबला छैनौँ । सिङ्गो मानव समुदाय एकातिर र क्रूर कोरोना भाइरस एक्लै एकातिर मैदानमा लडिरहेका छौँ।पक्कै पनि हाम्रो उच्चस्तरको विवेक र बुद्धिमत्ताले हामी अवश्य जित्ने छौँ ।

अहिले सुरक्षाकवजका रूपमा सरकारले घोषणा गरेको लकडाउनको नीति नागरिक विरुद्धको प्रहार हुँदै होइन । यो हामी अनि हाम्रै सुरक्षा र सतर्कताका लागि चालिएको कदम हो।जोखिम हामी आफैभित्र,हाम्रै घर वरपर छरछिमेक, अफिस,बसपार्क पसल,उत्सव,पार्टी,जमघट सपिङमल जताततै छ।शक्ति राष्ट्रहरू तथा पुँजीवादी देशले समेत यो क्रूर युद्धको रापलाई निस्तेज पार्न सकेको छैन । यसबाट पनि पुष्टि हुन्छ कि यो भद्रगोलको औषधि धैर्य र सकेसम्म विवेकको प्रयोग नै हो।त्यसैले होमक्वारेन्टाइनको पुरापुर पालना गरौँ ।

यो आपतको घडीमा हामी आफैँ र हामीले आशा विश्वास गरेका हाम्रा जिम्मेवार संयन्त्रहरू कति जिम्मेवार र जबाफदेही छन् परीक्षाको घडी पनि हो । जस्तोसुकै परिस्थितिमा पनि कर्तव्य विमुख नभई साहस र हिम्मत बटुलेर काम गर्नुपर्ने समय हो यो ।

विपत् र महामारीसँग जुध्न सजिलो छैन ।समस्यासँग भिड्न नसकी भाग्नु कायरता हो । हामीले केही समयका लागि हाम्रा आचरणहरू, आफ्ना व्यवहार, दैनिकी र दिनचर्यामा परिवर्तन गर्न जरुरी छ।मानवताको नाताले असल इमानदार कर्तव्यनिष्ठ नागरिकको नाताले हामी आवश्यकता अनुसार समसामयिक हुन जरुरी छ । यसले तत्कालको लागि जनजीवनमा केही असहजता ल्याउन सक्छ, हाम्रा आनीबानी र दैनिक व्यवहारलाई असर पार्न सक्छ । तर चुनौतीपूर्ण र जटिल परिस्थितिमा सम्भावित सङ्क्रमणलाई परास्त गर्न हामीसँग अर्को सहज विकल्प पनि छैन । यस बेला मुलुकले नेतृत्वकर्ता, आम सरोकारवाला निकायहरू र नागरिकको दृढता पूर्वक लड्ने इच्छाशक्ति हिम्मत र साहसको अपेक्षा गरेको छ।सिङ्गो मानव समुदाय जस्तोसुकै परिस्थितिमा पनि अविचलित लागिरहेका छ । लागिरहने छ ।

यस बेला फ्लोरेन्सशैलीमा निडर र अविचलित भई कर्ममा लागिरहने स्वास्थ्यकर्मीहरुलाई स्वतःस्फूर्त काम गर्ने वातावरण निर्माण गर्ने विषय प्राथमिक विषय हो।स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य उपकरण र साधनहरूको आवश्यकता छिटोभन्दा छिटो पूर्ति गर्न जरुरी छ । सबै सुरक्षा क्षेत्रका सुरक्षाकर्मीहरुलाई आवश्यक सुरक्षा सामग्री उपलब्ध गराउन जरुरी छ । हिजोका युद्ध र विश्व युद्धहरूमा जाने सेनानीहरूले प्राप्त गर्ने आणविक हतियार र बन्दोबस्तीका सामग्री उपलब्ध गराए जसरी आजका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामग्री उपकरण र सुरक्षाका वस्तुहरू उपलब्ध गराउन ढिलो गर्नु हुँदैन । कतिपय समस्या यस्ता छन् कि,पैसा भएर पनि अभावका कारण उपकरण खरिद गर्न नपाइने अवस्था छ । ताकि, हामी बिलकुल भिन्न अहिलेसम्म अभ्यासमै नआएको ज्यादै जटिल विषयमा अभ्यस्त छौ।सक्रियताले सकारात्मक परिणामसम्म पुगौँ ।फेरि पनि हामी पराजित हुने छैनौँ ।

अर्को कुरा मुलुक लकडाउनका कारण दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गरिरहने नागरिकहरूका लागि आइपर्ने समस्या समाधान गर्न राज्य सचेत छ र हुनुपर्छ । हामी आत्मविश्वास र मनोबलको हतियार बोकेर युद्ध जित्न मैदानमा तैनाथ छौँ । खाली पेटले मनोबल कमजोर बनाउँछ । वर्तमान सरकार नागरिक मैत्री सरकार जनताको सरकार भएको कारण विपत्तिको बेला कोही भोको नाङ्गो बस्नु नपर्ने वातावरण सरकारले पक्कै सिर्जना गर्नेछ । यस विषयमा तीनै तहका सरकार जागरूक भएको देखिन्छ अझ सशक्त हुन जरुरी महामारी भोकमरीमा रूपान्तरण हुन नदिन आआफ्नो ठाउँ बाट जुटौँ । दृढता र आत्मविश्वासले नै हामी विजेता बन्नेछौँ ।

(लेखक : बेलबारी नगरपालिकाकी उपमेयर प्रमुख ढाका कुमारी पराजुली (तारा))

 

प्रतिक्रिया दिनुहोस्