विश्व बैङ्कले नेपाललाई रु.३ अर्व ४८ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने


काठमाडौँ, २५ चैत । नेपाल सरकारलाई रु.३ अर्व ४८ करोड सहुलियतपूर्ण ऋण विश्व बैङ्कले उपलब्ध गराउने भएको छ । विश्व बैङ्कले कोभिड–१९ आपत्कालीन प्रतिकार्य स्वास्थ्य प्रणाली तयारी परियोजनाका लागि ऋण उपलब्ध गराउने भएको हो ।

ऋण सहयोगसम्बन्धी समझदारी पत्रमा आज विश्व बैङ्कका देशीय प्रबन्धक फारिस हदाद जेर्भोस र अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले हस्ताक्षर गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारका स्वास्थ्य सामग्री र उपकरण खरिद, सघन उपचार कक्ष र ‘आइसोलेसन वार्ड’स्थापना, देशका विभिन्न भागमा अवस्थित अस्पताल, प्रयोगशाला तथा स्वास्थ्य संस्थाको स्तरोन्नतिमा उक्त रकम खर्च गरिने छ ।

परियोजना स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यान्वयन गर्नेछ । आजैदेखि उक्त परियोजना लागू हुनेछ । तीन साताको अवधिमा परियोजनामा लगानी गर्नेसम्बन्धी सम्पूर्ण काम पूरा भएको अर्थ मन्त्रालयले जनाएको छ ।

सचिव ढुङ्गानाले कोरोना भाइरसका कारण उत्पन्न अकल्पनीय परिस्थितिमा अन्तर्राष्ट्रिय विकास सङ्गठन (आइडीए) बाट बैङ्कले सहुलियतपूर्ण ऋण उपलब्ध गराएकामा हार्दिक आभार व्यक्त गर्दै स्वास्थ्य क्षेत्रमा केन्द्रित रहेर भविष्यमा पनि बैङ्कले सहायतालाई निरन्तरता दिने विश्वास व्यक्त गरेका छन् ।

यसैबिच, भिडियो कन्फ्रेन्सिङको माध्यमबाट आजै केही आर्थिक पत्रकारहरूसँग कुरा गर्दै देशीय प्रबन्धक हदादले कोभिडविरुद्ध नेपाल सरकारले समयमै चालेका सुरक्षात्मक कदमको सराहना गरे ।

नेपालका विकासका साझेदारसँगको समन्वयमा बैङ्कले कोभिड–१९ बाट नेपालको अर्थतन्त्रमा पर्ने प्रभावको अल्प, मध्य र दीर्घकालीन मूल्याङ्कन गर्ने जानकारी दिँदै उनले पर्यटन, विप्रेषण, श्रम, व्यापार एव रोजगारीका क्षेत्रलाई गतिशील तुल्याउन बैङ्कले थप सहयोग गर्ने बताए ।

आगामी शुक्रवार अर्थमन्त्री, नेपाल राष्ट्र बैङ्कका गभर्नर, एसियाली विकास बैङ्क, एसियाली पूर्वाधार विकास बैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व बैङ्कका उपाध्यक्षले सामूहिकरुपमा स्थितिको विश्लेषण गरी भावी सहयोगको रूपरेखा तयार पार्ने जानकारी उनले दिए ।

उनले नेपालको आर्थिक विकासको संवाहक निजी क्षेत्र र साना तथा मझौला उद्योगलाई पनि बैङ्कले सघाउने बताए ।

प्रतिक्रिया दिनुहोस्