महासंकटमा सहकारी क्षेत्रबाट मोरङमा सहयोग जुट्दै


विराटनगर, २६ चैत्र । राष्ट्रिय महामारीको वर्तमान समयमा सहकारी क्षेत्रले खेलेको भूमिका प्रशंसानिय रहेको कुरा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले बताउनु भएको छ । मुख्यमन्त्रीकै कार्यालयमा आज आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

उहाँले कोरोना सङ्क्रमणको सन्त्रासबाट अझ पनि मुलुक तरल अवस्थामा रहेको बताउँदै सबै क्षेत्र र समुदायको एकताबद्ध प्रयासबाट हामीले यो समस्याबाट मुक्ति पाउन सकिन्छ भन्नु भयो । प्रदेश नं. १ मा सहकारी क्षेत्रबाट उल्लेख्य आर्थिक तथा भौतिक सहयोग र ऐक्यबद्धता प्राप्त भएको चर्चा गर्दै मुख्यमन्त्री राईले सहकारी क्षेत्रबाट लकडाउनलाई अझ प्रभावकारी बनाउन तथा सरकारका हरेक निर्णय कार्यान्वयनमा सहजीकरणको भूमिका निर्वाह गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासङ्घका उपाध्यक्ष रमेश प्रसाद पोखरेलले मुलुकका सबै पालिकामा रहेका सहकारी संघसंस्थाहरुलाई कोरोनाको महाविपत्तिको वर्तमान समयमा अप्ठ्यारोमा परेका सदस्य लगायत सबै व्यक्तिहरूलाई सहयोग गर्नु हुन अनुरोध गरिएको कुरा बताउनु भयो । सोही बमोजिम अहिले देशभरिबाट करोडौँको नगद, खाद्यान्न एवम् औषधिजन्य बस्तुको सहयोग सङ्कलन तथा वितरण भइरहेको कुरा उहाँले बताउनु भयो ।

सो अवसरमा जिल्ला सहकारी सङ्घ लि. मोरङको समन्वयमा जिल्लाका विभिन्न सहकारी संघसंस्थावाट प्राप्त रकम मध्ये प्रदेश सरकारद्वारा स्थापित कोरोना जनसुरक्षा कोषमा रु. ५ लाख ५५ हजार ५ सय ५५ सहयोग रकम मुख्यमन्त्री राईलाई हस्तान्तरण गरियो ।

रकम हस्तान्तरण कार्यक्रममा सङ्घका अध्यक्ष डिल्ली पोखरेलले मोरङमा रहेका सबै सहकारी सङ्घ संस्थाहरू अहिले पालिका स्तरमै सक्रिय रूपले सहयोगमा जुटेको कुरा बताउनु भयो । उंहाले आफ्ना सदस्यका अतिरिक्त स्थानीय जनप्रतिनीधिहरुसंग समन्वय गरी समुदायमा उल्लेख्य सहयोग गर्नका निमित्त जिल्लाका सबै सहकारी संघसंस्थाहरुलाई निर्देशन गरिएको र सोही अनुसार साथीहरू सक्रिय रहेको कुरा बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्