तारा पराजुलीको “एकान्तमा”


कोही आउने
कोही जाने
मूलबाटो जस्तै रहेछ एकान्त।

मलाई थाहा भए देखि नै
उमेरका प्रत्येक पृष्ठहरू
एउटै जिन्दगीका हजार संस्करण बनेर
एकेक आउँछन् एकान्तमा

कहिल्यै फर्केर नआउने बालापन
आफैँबाट छुट्टिएर गएको समय
सबै सबै आउँछन् एकान्तमा।

बिर्सिएको इतिहास
भेटिएको प्रेमको तस्बिर
च्यातिएका प्रेमपत्र
भत्किएको विश्वासको देवल
प्रिय मान्छेहरूको दिवंगत अनुहार
फेरि फेरि दोहोरियोस् झैँ लाग्ने
उल्लासको सुन्दर अध्याय
नफर्कियोस् झैँ लाग्ने
दुःखको फेहरिस्त
कहिल्यै नखुलोस् लाग्ने अभावको झ्याल
गल्ती पछिको पश्चात्ताप
लस्करै आउँछन् एकान्तमा।

आकाश छोप्न छोडेर आउँछ
तानाशाह कुहिरो मैमाथि
ब्युझिंएर गोप्य समय
सुनाउँदै अनौठो दर्शन
आउँछन् वर्तमान,भूत र भविष्य
एक साथएकान्तमा
यी सबै भन्दा पनि धेरै
तिम्रो याद आउँछ एकान्तमा।

(तारा पराजुली,मोरङ)

प्रतिक्रिया दिनुहोस्