जब राहत पाउनुपर्ने मजदुरहरूले नै राहत दिए


बेलबारी, २७ चैत / भनिन्छ सहयोग गर्न धन हैन मन चाहिन्छ । यही भनाइको पुर्ण अर्थ बेलबारी नगरपालिका वाड नं. ९ को एक महिला समूहले प्रस्तुत गरेका छन् । खेतीमा ज्यालादारी गर्ने बेलबारी वाड नं. ९ ढ्याङ्ग्रा ढ्याङ्ग्री घुरन टोलका महिलाहरूले बेलबारी नगरपालिकालाई राहत सामाग्री वितरण गरेका छन् ।

बुधवार उनीहरूले ३ सय ५३ केजी चामल, १५ केजी, नुन र ४ केजी तेल बेलबारी नगरपालिकाका उपप्रमुख ढाका कुमारी पराजुलीलाई हस्तान्तरण गरेका हुन । उपप्रमुख पराजुलीलाई राहत सामाग्री हस्तान्तरण गर्दै उक्त समूहका आशा राजवंशीले भनिन् , ‘हामीसँग दुई महिनालाई पुग्ने अन्न छ । हामी जस्तै गरिबहरूको प्राण रहोस् भनेर आधा काटेर दिएका हौँ ।’

प्राणघातक कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै सरकारले देशमा लकडाउन लागु गरेको दोस्रो चरण सम्म आइपुग्दा ज्यालामजदुररी गर्ने परिवारमा खाद्यान्नको अभावको कारण बेलबारी नगरपालिकाले राहत सामाग्री वितरण गरिरहेको छ ।

स्थानीय सङ्घ संस्थाले पनि बेलबारी नगरपालिकालाई राहत सामाग्री सहयोग गरी रहेको छ । उक्त विभिन्न सङ्घ संस्थाबाट बेलबारी नगरपालिकाले प्राप्त गरेको राहत सामाग्री पाउनु पर्ने स्थानीयलाई वितरण गरी रहेको छ । राहत सामाग्री वितरण एक द्वार प्रणालीबाट भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्