झापाको विर्तामोड युनाइटेड सेमीफाईनलमा प्रबेश


बेलबारी, भाद्र २४ । झापाको बिर्तामोड युनाइटेड मोरङको लक्ष्मीमार्गमा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण बुद्ध एयर डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा आयोजक डाँगीहाट युथ क्लबलाई टाईब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन बिर्तामोडले सेमिफाइन यात्रा तय गरेको हो ।

रोमाञ्चक प्रतियोगिताको निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि टाईब्रेकरबाट खेलको छिनोफानो गर्नु परेको थियो । टाईब्रेकरमा घरेलु मैदानमा आयोजकलाई स्तब्ध बनाउँदै पाहुना टोली बिर्तामोड विजयी बन्यो । पृथ्वी चौधरी, रोशन थाम्स्वाङ, नानी लिम्बू, सञ्जय धिमाल र दिलेन लोक्तामले गोल गर्दा बिर्तामोडको जित पक्का भयो । आयोजकका तर्फबाट अरुण लिम्बू, उमेश कार्की र विक्रम लिम्बुको प्रहार गोलमा परिणत भयो ।

सुरेन्द्र खवासको प्रहारलाई बिर्तामोडका गोलरक्षकले विफल पारिदिए । घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरे पनि विपक्षीलाई नतिजा सुम्पिएको आयोजकले पहिलो डाँगीहाट गोल्डकपमा बिर्तामोडसँगै सेमिफाइनलमा भोगेको पराजयको बदला समेत लिन पाएन । बिर्तामोडले पनि खेल अवधिमा गोल गर्नका लागि पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा जितका लागि टाईब्रेकर सम्म पर्खनु प¥यो ।

१४ औँ मिनेटमा तीर्थ बस्नेतको प्रहार दायाँ बार हुँदै बाहिरिँदा आयोजकले अग्रता लिने अवसर गुमायो । ५४ औँ मिनेटमा आयोजकका विक्रम लिम्बुको फ्रिकिक प्रहारले विपक्षी बार भत्काउन सकेन । ६५ औँ मिनेटमा तीर्थकै दोस्रो प्रयासमा पनि बिर्तामोडका गोलरक्षक बाधक बने । ७३ औँ मिनेटमा अरुण लिम्बुको प्रहार क्रसबारमाथिबाट बाहिरिएपछि आयोजकले कुनै मौका पाएन । त्यसपछि खेल टाईब्रेकरमा धकेलियो । ४० औँ मिनेटमा बिर्तामोडका रोजिन माझीको कर्नर पासमा रोशन थाम्स्वाङको हेड प्रहार पोस्टमाथिबाट बाहिरियो । ६० औँ मिनेटमा बिर्तामोडका विशाल दर्जीले गरेको हेड प्रहारमा आयोजकका गोलरक्षक बाधक बने । ७२ औँ मिनेटमा नानी लिम्बुको प्रहार क्रसबारमाथिबाट बाहिरिँदा बिर्तामोडले निर्धारित समयमा नतिजा निकाल्न सकेन ।

आइतबारको खेलको म्यान अफ दी म्याच बिर्तामोडका आशिष् चापागाई घोषित भए । सोमबारको खेलमा भारतको खर्साङ युनाइटेड क्लब र मोरङ फुटबल एकेडेमी मंगलबारेबीच प्रतिस्पर्धा हुने छ ।

प्रतिक्रिया दिनुहोस्