मोरङ अन्तिम चारमा


बेलबारी / मोरङको लक्ष्मीमार्गमा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण डाँगीहाट गोल्डकप फुटबल प्रतियोगितामा मोरङ फुटबल एकेडेमी मङ्गलबारे अन्तिम चारमा प्रवेश गरेको छ ।


बेलबारी नगरपालिका ११ स्थित लक्ष्मीमार्ग खेलमैदानमा सोमबार भएको खेलमा भारतको युनाइटेड खर्साङ फुटबल क्लबलाई ५–० गोल अन्तरले निराश बनाउँदै मोरङले सेमिफइनल यात्रा सुरक्षित गरेको हो । वर्षाका कारण हिलाम्य बनेको मैदानमा पाहुना टोली खर्साङले सन्तोषजनक खेल देखाउन नसक्दा फाइदा मोरङले लियो ।
एकपक्षीय खेलमा मोरङको सनसनीपूर्ण जितका लागि कप्तान सन्तोष न्यौपानेले तीन गोल गर्दै ह्याट्रीक पूरा गरे । मोरङका तर्फबाट कर्ण लिम्बू र शौजन राईले एक/एक गोल गरे ।

प्रतियोगिताको म्यान अफ दी म्याच घोषित न्यौपानेले खेलको १६ औँ मिनेटमै गोलको खाता खोलेर मोरङलाई अग्रता दिलाएका थिए । एक्लै अघि बढेका उनले विपक्षी गोल रक्षक निगम सिंहलाई बिट गर्दै बललाई पोस्टको दिशा दिँदा खर्साङ दबाबमा पर्‍यो । त्यसको तीन मिनेटमै मोरङले अग्रता दोब्बर बनाउँदा खर्साङ सम्हालिन सकेन । १९ औँ मिनेटमा विपक्षी खेलाडीले क्लियर गर्न नसकेको बललाई कर्ण लिम्बुले नियन्त्रणमा लिएर पोस्टको दर्शन गराउँदा मोरङ २–० गोल अन्तरले अघि बढ्यो ।

खर्साङका विरेन प्रधानले डि बक्स भित्र मोरङका शौजन राईलाई फल गरेपछि ७० औँ मिनेटमा रेफ्री मदन काफ्ले मोरङलाई पेनाल्टी सुटआउटको अवसर दिन चुकेनन् । सन्तोषले गरेको पेनाल्टी प्रहार विपक्षी गोलरक्षक निगम सिंहलाई ठोक्किएर रिवाण्ड भए पनि पुन उनैले त्यसलाई पोस्टको दिशा दिन सक्दा खेल ३–० अन्तरमा पुग्यो । ७३ औँ मिनेटमा मोरङले खेललाई ४–० को अन्तरमा  पुर्‍यायो । वान टु वान पासको मद्दतबाट बललाई जाली चुमाउँदै सन्तोषले ह्याट्रीक पूरा गर्दा खर्साङको हार निश्चित जस्तै बन्यो । खेलको इन्जुरी समयमा गोल थपेर खर्साङमाथि ५–० अन्तरको फराकिलो जित आफ्नो टिमलाई दिलाउन शौजन राई सफल भए ।

खेलको दोस्रो मिनेटमै कर्ण लिम्बुले विपक्षी गोलरक्षकलाई बिट गर्दै गरेको प्रहारलाई खर्साङका खेलाडीले क्लियर गरेर आफ्नो टिमको सुरुवाती सङ्कट टारेका थिए । ३२ औँ मिनेटमै विपक्षी गोलरक्षक निगम सिंह अगाडि बढेको मौकामा उनैले गरेको प्रहारलाई पनि खर्साङका विरेन प्रधानले क्लियर गरिदिए । ३७ औँ मिनेटमा गोलरक्षक सिंह अगाडि बढेको मौकामा पनि कर्ण खाली पोस्टमा गोल गर्नबाट चुके । गोल रक्षक अगाडि बढेको अवस्थामा ५७ औँ मिनेटमा पनि उनको प्रहारमा विपक्षी खेलाडी विरेन बाधक बने । ६६ औँ मिनेटमा मोरङका शौजन राईको प्रहार क्रस बारमा लागेर फर्कियो ।

मोरङका सामु फितलो प्रदर्शन गरेर निरीह बनेको खर्साङले २५ औँ मिनेटमा गोल फर्काउने अवसरलाई सदुपयोग गर्न सकेन । शनिवार रानाको प्रहारमा मोरङका गोलरक्षक किशोर गिरी बाधक बने । २९ औँ मिनेटमा खर्साङका राजिव प्रधानको प्रहारले पनि विपक्षी बार भत्काउन सकेन । ३९ औँ मिनेटमा रोहन राई वान भर्सेस वानमा चुक्दा पहिलो हाफमा खर्साङले गोल फर्काउन सकेन । मध्यान्तरपछि ६० औँ मिनेटमा राजिव प्रधानको प्रहारलाई मोरङका गोलरक्षक गिरीले उत्कृष्ट ढङ्गबाट बचाउ गरेर आफ्नो टिमका विरुद्ध गोल हुनबाट जोगाए । ८० औँ मिनेटमा आदर्श तामाङ चुक्दा खर्साङले खेलमा सान्त्वना गोल पनि फर्काउने अवसर पनि गुमायो ।
मंगलबारको खेलमा रेडहर्ष क्लब इलाम र अण्डर १८ राष्ट्रिय टिमबिच प्रतिस्पर्धा हुने आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम राईले बताए ।

प्रतिक्रिया दिनुहोस्