“ रहर भिजेको मौसम ”


तारा पराजुली –

घर सम्झेर आएको थिएँ
घरभित्रै बेघर भएँ

सपना खोज्दै मुग्लान पुगेको म
पसिनासँग एउटा सानो छानो साटेँ
दुई गजजस्तो करेसाबारी जोडेँ
भर्खरै स्कुल जान थालेको छोरालाई
सानो झोलामा अट्ने अलिकति रहर किन्दैथिएं।
मानौँ,बल्ल जीवनको लय मिलाउँदै छु।

आँधीले घरभन्दा पहिले मन बगाउँदो रहेछ
आज दस वर्षपछि
अचानक हुरीले रुखबाट पात झारे झैँ
जीवनमा अनौठो आँधी आयो
नरोकिने गरी मुटु ढकढक बनायो
बाँच्ने रहर जिउँदै बोकेर
दस वर्षपछि
कहिल्यै नफर्कनेगरी मैले मुग्लान छोडेँ।

धेरैजसो आशाहरू त
लगभग उतै बिलाइसकेका थिए
रापको बरफ जसरी
बिलाएर बग्दै जाँदा पनि तरल मनले
ओरालोमा घरै सम्झेको थिएँ
थोपा थोपा भित्र पीडा बग्दै थिएँ
सपनाहरू थोरै मात्र बाँचेका थिए
रहरका रङ उडेपनि
विश्वासका मसिना जुइनाहरु बचाएर
आइपुगेको हुँ बल्लतल्ल घरसम्म।

अक्सर हिँड्ने बेलाको साइत भनिन्छ
म हिँडेको दिन
कुनै कौवाले अपमानको सन्देश बोलेन
लामो बाटो,तिरस्कारको कुनै सङ्गीत बजेन
बाटोमा खाली गाग्रो बोक्ने कुनै पधेर्नी भेटिनँ
चुपचाप रेलका लिगहरू
सुनसान एक्लो सडक
सडकमाथि गन्तव्य सम्झेर
सप्तकोसी झैँ सुसाइरहेको एक्लो बटुवा
आफैँले भोगेको दुःखको कथाजस्तै लामो बाटो
लगभग तेह्र दिन भोकै पैदल हिँडेर आइपुगेको हुँ मोटर गुड्ने बाटैबाटो हिँडेर
आफ्नै पसिना र माटो मुछेर बनाएको कच्ची घर।

भोक लाग्दा एक पेट खान नपाएपनि
तिर्खाले घाँटी सुक्दा एक घुंड्को पानी नभेटेपनि
थकानले शरीर गलिसक्दा
त्रासले मन जलिसक्दासमेत
निर्दयी सिकारीले लखेटेको चरा झैँ
महामारीले खेदिएर जीउ जोगाउनै भनेर
घिस्रंदै आएको हुँ तिम्रो प्रेम सम्झेर यहाँसम्म।

आफ्ना सम्झेर आएको थिएँ यहाँसम्म
आफ्नाहरूबाटै पराइ भएँ
घर सम्झेर आएको थिएँ
घरभित्रै बेघर भएँ।

आमा बा भन्दै
प्रेम र आशीर्वादको हात सम्झेर आएँ
दौँतरीहरू सम्झेर आएको थिएँ
छहारी दिने चौतारी बन्लान् भनेर
न आशीर्वादको हात पाएँ
न पाएँ दौँतरीको चौतारी
यहाँ आएपछि त
नामुद अपराधी जस्तो अपमान पो आएँ
म निरपराध मान्छे
बर्शौपछि कति धेरै खुसी बोकेर घर पुगेको हुँ
तर निरस बगर बाँचेँ
बिना झरी रहर ओताउने छानो चुहिएर
एक्लै एक्लै घरभन्दा प…..र थोत्रो याक्साभित्र
खुला आकाश ओढेर बसेँ
आधा जलिसकेको वर्तमान ओछ्याएर तन्द्रा बाँचे
समाजको सुख्खा र कठोर निगरानीभित्र
पटक पटक स्पष्टीकरण दिँदै
आफ्नै पंखेटाहरुलाई धिक्कारिरहेँ
लाग्छ,म टेबलमाथि कसैले राखेको
रङ्गहीन पेपरवेट हुँ
थुप्रै थुप्रै उपयोगी फाइलहरूको सुरक्षा गर्नु छ मैले।

तपाईँलाई थाहा छैन होला!
यो बेला तपाईँ मसँग डराउनु हुन्छ
म तपाईँसँग डराउँछु
कृपया,यसबेला मलाई
परैबाट अलिकति प्रेम र विश्वास दिनुहोस्
मभित्र आफैँभन्दा अग्लो विश्वास बाँचिरहेको छ

सत्य हो,म सन्चो र निरोगी मान्छे
अचेल तपाईँको मधौरो व्यवहारले मात्र
बिरामी जस्तो देखिएको हुँ।

प्रतिक्रिया दिनुहोस्