विवेकको कविता “कोपिला दिदीको राहत”


राहत पाउने झिनो आशामा
वडा कार्यालय पुगेकी दिदीलाई
जब उनको नागरिकता मागियो ,
घरबेटीको हस्ताक्षर मागियो ,
जसको कुनै नागरिकता छैन
जसको कुनै घरबेटी छनै
बस उनलाई यति मात्रै थाहा छ कि
उनकी आमाले उनलाई
सडक मै जन्म दिएकी हुनु
सडक मै हुर्काएकी हुन
उसको कुनै थर छनै
मात्र उनकी आमाले बोलाउने
एउटा नाम छ “कोपिला”
र बस उनलाई यति थाहा छ कि
उसको घर आकाश हो र
घरबेटी उसको भगवान् हो ।

उसलाई थाहा नै छैन जबकि
यो नागरिकता भनेको के हो ?
यो कस्तो हुन्छ भनेर ?
खासमा भन्नू पर्दा
उनलाई आफ्नो परिचय नै थाहा छैन ,
आमाले मायाले कोपिला भन्छिन् अनि
आरुले दिएको परिचय वेश्याको छोरी,
आवारा, खा जे भने पनि सहन्छिन्
कस्तो विरक्त, कहाली लाग्दो जिन्दगी
यस्तो सुन्दा हुन्छ उनलाई धेरै पीडा
तर सुन्नै पर्ने समाजले दिएको छ बाध्यता
लाग्छ ! होला कस्तो दुःखको जिन्दगी ।

श्रीमान् अध्यक्ष ज्यू ,
अब भन्नुहोस्
ती, बिचरी दिदीले कसरी ल्याउन
सक्छिन् नागरिकता..?
जसको घर नै छैन,
जो घर भाडा मै बस्दिन्न
बस बस्छिन् त एउटा सडकको पेटीमा
अब कसरी ल्याउन सक्छिन्
घरबेटीको हस्ताक्षर ?
त्यसैले म दस आउला जोडेर बिन्ती
बिसाउँछु अध्यक्ष ज्यू ,
अहिले तपाइको कमिसन राख्ने,
गोजी रित्तो देख्ने समय होइन ।
घरमा भएको भकारीलाई
भोको नसम्झनुस्
किन कि ! यहाँ सबैलाई थाहा छ ,
तपाईँ अनि तपाइको परिवारको
गोजी रित्तो छैन ,
तपाईँको खाद्यान्नको भकारी रित्तो छैन
मात्र तपाईँको जनता प्रतिको माया
रित्तिएको छ,
कमिसनले भरिने पेट भोकाएको छ ,
त्यसैले यस्तो विपत्ति आपत्मा
बहाना नबनाई दिनुहोस् अध्यक्ष ज्यू ,

ती दिदी त एउटा समाजको पात्र
मात्र हुन ती दिदीजस्ता हजारौँ
दिदीहरू छन् ,
त्यसैले ती दिदी र दिदी जस्तालाई
अलिकति भए पनि राहत दिनुहोस्
उनको भोको पेटले,
तपाईँलाई जिउँदो भगवान् मान्ने छ
र ! फेरि पनि त्यही कुर्सीको मालिक
बनाउने छ ।

-विवेक श्रेष्ठ (बेलबारी, मोरङ)

प्रतिक्रिया दिनुहोस्