तिला लेकालीको “राम साइँलो”


आज मे एक
अन्तर्राष्ट्रिय श्रमिक दिवस
सदाझैँ एकाबिहानै उठ्यो राम साइँलो
र सरासर आरनमा गएर बस्यो
आरनबाट खरानी उधिनेर निकाल्यो
ऊ भित्रको शक्तिजस्तै
झरझराउँदो आगोको फिलुङ्गो
ततायो फलामका डन्डी र पिट्यो हम्मरले
बनायो हँसिया बन्चरो खुकुरीहरू

आज सदा भन्दा निक्कै खुसी छ ऊ
चारैतिरबाट औजारको माग आएको छ
भ्याई नभ्याई छ काम उसलाई कतै हेर्ने फुर्सद छैन
त्यसैले प्रफुल्ल छ उसको अनुहार

उता भेडाका बथान जस्तै मान्छेहरू
हामीलाई रोजगारी दे
श्रमको उचित मूल्य तोक जस्ता
विश्वका श्रमिक एक हौँ जस्ता
चर्का नारा लिएर आउँदै थिए उतिरै
सोच्यो,आज मजदुर दिवस रहेछ
विश्वका श्रमिक एक हौँ भन्दै
पाटीका फलामे साङ्लोमा बाँधिएर
स- साना झुन्डमा मनाउँदै थियो देश
अन्तर्राष्ट्रिय श्रमिक दिवस

विखण्डित गरेर श्रमिकहरूलाई
माउतेहरु घोडा छाँदिएझैँ
छाँदिएर मालाका भारीले मन्चासिन थिए
श्रमिक दिवसको सुइँको नपाएको
रामसाहिलो भने सोच्दै थियो-
श्रमिकको सम्मान गर्न भाषण होइन
काम गर्नु पर्छ ।

 

प्रतिक्रिया दिनुहोस्