“एक डोको फोटो”


केशव थापा मगर –

चौतर्फी लकडाउनले छोपेको छ

धेरै भयो
आगो बलेको छैन
चुल्हो जलेको छैन
भोक मेटिएको छैन
प्यास बुझेको छैन

त्यसैले
दिनभरि आशा बोकेर बसेँ
चामल र दाल पर्खेर बसेँ
अलिकति नुन खोजेर बसेँ

बिरामी बाबाका लागि
हात थापेर बसेँ
एक पत्ता दबाई मागेर बसेँ
बुढी आमाका लागि
एक कटौरा हाँसो मागेर बसेँ

नाबालक छोराका लागि
चाउचाउ खोजेर बसेँ
सानी छोरीका लागि
चिची, माम सोचेर बसेँ

बल्लबल्ल आज प्रतिनिधिहरू आए
पत्रकारहरू आए
प्रहरी र कर्मचारीहरू आए
मिठो आस देखाए
ठुलो तामझाम गराए

अन्ततः
सानो दुई पोका चामल र एक पोका दाल
फ्यात्त फालेर गए
साटोमा एक डोको फोटो खिचेर गए ।

प्रतिक्रिया दिनुहोस्