मोरङ एकेडेमी गोल्डकपको फाइनलमा : चर्च ब्वाइज पराजित


बेलबारी / मोरङ फुटबल एकेडेमी मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा जारी दोस्रो डाँगीहाट अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

लक्ष्मीमार्ग स्थित मैदानमा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड काठमाडौँलाई २–१ गोल अन्तरले निराश बनाउँदै मोरङ उपाधि होडमा पुगेको हो । उसले आगामी शनिवार रेड हर्ष क्लब इलाम र बिर्तामोड युनाइटेडबीचको विजेताको सामना गर्नु पर्ने छ । मोरङको जितका लागि दुवै गोल पहिलो हाफमै सम्भव भएको हो । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरे पनि चर्च ब्वाइजले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा नतिजा मोरङको पक्षमा पुग्यो । दोस्रो हाफपछि खेललाई सुधार गरे पनि मोरङले गोल सङ्ख्या तीन पु¥याउन सकेन । मोरङको जितका लागि संजोग राई र विदेशी खेलाडी प्रेकले एक÷एक गोल गरे । चर्च ब्वाईजका तर्फबाट नीरज बस्नेतले एक गोल फर्काए पनि जितका लागि पर्याप्त हुन सकेन ।

३७ औँ मिनेटमा संजोग राईले गोल गर्दा मोरङ अगाडि बढ्यो । राईले प्रहार गरेको बल चर्च ब्वाइजका गोलरक्षक विवश चौधरीले क्लियर गर्न नसक्दा रिवाउण्ड भएपछि उनैले वान टच जारी चुमाउँदा चर्च ब्वाइज दबाबमा प¥यो । पहिलो हाफको अन्त्यमा अर्को गोल थप्दा मोरङलाई जितका लागि पर्याप्त बन्यो । एक्लै बल लिएर अघि बढेका विदेशी खेलाडी प्रेकले वान भर्सेस वानको स्थितिमा नजिकैबाट भली गर्दै बललाई पोस्टको दर्शन गराउँदा खेल २–० को स्थितिमा पुग्यो ।

७८ औँ मिनेटमा नीरज बस्नेतले गोल फर्काए पनि चर्च ब्वाइजले अर्को गोल गर्न नसक्दा जित निकाल्न सकेन । एक्लै अघि बढेका उनले मोरङका गोल रक्षक किशोर गिरीलाई बिट गर्दै पोस्टको बाटो देखाएका थिए । चर्च ब्वाइजले अर्को गोल फर्काउन नसक्दा उसको फाइनल यात्रा टुँगियो ।

तस्बिर : खनेन्द्र कुमार राई (अर्जुन)

                                                                                                      ( निलोमा मोरङ, चर्च सेतो जर्सीमा छ । )

२५ औँ मिनेटमा कप्तान अरुण श्रेष्ठ चुक्दा पाहुना टिम चर्च ब्वाइजले सुरुवाती अग्रता लिने अवसर गुमायो । ३१ औँ मिनेटमा खमिर गिल्सन कान्दङवाको प्रहारमा विपक्षी गोलरक्षक गिरी बाधक बने । ३३ औँ मिनेटमा भुवन बस्नेतको प्रहारले पनि पोस्ट देख्न नसक्दा चर्च ब्वाइजका तर्फबाट पहिलो हाफमा कुनै पनि गोल हुन सकेन । ५२ औँ मिनेटमा अरुण श्रेष्ठको प्रहार बायाँ बार हुँदै बाहिरिँदा चर्च ब्वाइज अभागी ठहरियो । ६६ औँ मिनेटमा निजर बस्नेतको प्रहारले पनि पोस्ट देखेन । ६९ औँ मिनेटमा उनकै प्रहार क्रसबारमाथिबाट बाहिरिनु चर्च ब्वाइजका लागि दुर्भाग्यपूर्ण बन्यो । ७१ औँ मिनेटमा दीपेश श्रेष्ठको प्रहारले विपक्षी बार भत्काउन नसक्नु चर्च ब्वाइजको हारको मुख्य कारण बन्यो ।

३५ औँ मिनेटमा कर्ण लिम्बुको प्रहारमा विपक्षी गोल रक्षक चौधरी बाधक बनिदिँदा दुई मिनेट अगाडि अग्रता लिने अवसरको मोरङले सदुपयोग गर्न सकेन । लिम्बू पटक पटकको प्रयासमा पनि सफल हुन सकेनन् । ६० औँ मिनेटमा शौजन राईको प्रहारलाई गोलरक्षक चौधरीले रोकिदिए । ७० औँ मिनेटमा कर्णको सहयोगमा संजोग राई ढिलो हुँदा मोरङले अर्को गोल थप्न सकेन । ७३ मिनेटमै कर्ण वान भर्सेस वानको स्थितिमा असफल बने ।

खेलको म्यान अफ दी म्याच मोरङका विवेक पौडेललाई उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले पुरस्कार प्रदान गरे । शुक्रवारको दोस्रो सेमिफाइनल खेलमा रेड हर्ष क्लब इलाम र बिर्तामोड युनाइटेडबीच प्रतिस्पर्धा हुने छ ।

प्रतिक्रिया दिनुहोस्