डाँगीहाट गोल्डकपको उपाधि मोरङ एकेडेमीलाई


बेलबारी, ३० भदौ । मोरङ फुटबल एकेडेमी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिताको विजेता बनेको छ ।

मोरङको बेलबारी नगरपालिका ११ स्थित लक्ष्मीमार्गको खेलमैदानमा शनिवार सम्पन्न फाइनल खेलमा साबिक विजेता बिर्तामोड युनाइटेडलाई ६–० को फराकिलो गोल अन्तरले निराश बनाउँदै मोरङले उपाधि रक्षा गरेको हो । साबिक उप विजेता मोरङको जितमा कर्ण लिम्बू एक्लैले तीन गोल गर्दै ह्याट्रिक पूरा गरे । उत्कृष्ट खेल पस्किएको मोरङको सनसनीपूर्ण जितमा निशान लिम्बू, शौजन राई र विदेशी खेलाडी पेन्कले एक÷एक गोल गरे । गोल्डकप उपाधि चुम्न सफल बनेको मोरङले यस गोल्डकपलाई पहिलो डाँगीहाट गोल्डकपको फाइनलमा बिर्तामोडसँगै बेहोरेको हारको बदला लिने अवसरका रूपमा सदुपयोग ग¥यो ।

खेलको सुरुवातदेखि नै तालमेल गुमाएको बिर्तामोडलाई रोकेको मोरङले अन्तिम समय सम्म कुनै मौकै दिएन । एक पक्षीय खेल खेलेको मोरङले पाएका अवसरको सदुपयोग गर्दा सहज जित निकाल्न सक्दा उपाधिसँगै दुई लाख २२ हजार दुई सय २२ रुपैयाँमा प्राप्त ग¥यो । उप विजेता बिर्तामोडले एक लाख ११ हजार एक सय ११ रुपैयाँमै चित्त बुझायो ।
सुरुवातमै झापा विरुद्ध दबाब सिर्जना गरेको मोरङले खेलको ५ औँ मिनेटमै पहिलो गोल गरेको थियो । विदेशी खेलाडी पेन्कको प्रहारमा बाधक बनेपछि बिर्तामोडका गोलरक्षक मीन बस्नेत अलमलमा परेको फाइदा लिँदै निशान लिम्बुले गोलको खाता खोलेर टोलीलाई अगाडि बढाए । त्यसको एक मिनेट पनि बित्न नपाउँदै मोरङले गोल थप्दा खेल २–० मा पुग्यो ।

६ औँ मिनेटमा कर्ण लिम्बुले गोल थप्दा बिर्तामोड थप दबाब झेल्न बाध्य भयो । आफ्नै प्रहार दोस्रो बारमा लागेर रिवाण्ड भएपछि कर्णले नै हेड गर्दै बललाई जाली चुमाए । ३८ औँ मिनेटमा विवेक पौडेलको पास लिएर एक्लै अघि बढेका शौजन राईले वान भर्सेस वानको स्थितिमा बललाई पोस्टको दिशा दिँदा पहिलो हाफमा बिर्तामोड ३–० गोल अन्तरले पछि प¥यो ।

खेलको ५६ औँ मिनेटमा बिर्तामोडका गणेश हेमरनले डिबक्स भित्र कर्ण लिम्बुलाई गलत ट्याकल गरेपछि रेफ्री श्याम दनुवार मोरङलाई पेनाल्टीको अवसर दिन चुकेनन् । विदेशी खेलाडी पेन्कले पेनाल्टी सुट आउट अवसरको सदुपयोग भने गर्न सकेनन् । उनको प्रहार पहिलो बार हुँदै बाहिरिँदा मोरङको ४–० गोल अन्तरले अघि बढ्ने अवसर खेर गयो । गणेशले पहेँलो कार्ड समेत पाए ।

निशान लिम्बुको पासका कर्णले बललाई जारी चुमाउँदा ५९ औँ मिनेटमा मोरङ ४–० ले अघि बढ्यो । ६४ औँ मिनेटमा विवेक पौडेलको क्रस पासमा एक्लै बल लिएर अघि बढेका कर्ण लिम्बुले बललाई पोस्टको दर्शन गराउँदै व्यक्तिगत तीन गोल गर्दा खेल ५–० मा पुग्यो । तेस्रो गोलसँगै कर्णले ह्याट्रीक पूरा गरे । मध्यान्तरपछिको इन्जुरी समयमा सुरज राईको पासमा विदेशी खेलाडी पेन्कले गोल गरेर आफ्नो टिमलाई ६–० को फराकिलो गोल अन्तरले जित दिलाए ।

 

पाएका अवसरलाई खेर फाल्दा बिर्तामोड गोल विहीन बन्न पुग्यो । ३४ औँ मिनेटमा रोशन थाम्स्वाङको पासमा लक्ष्मण चौधरी चुक्दा पहिलो हाफमा बिर्तामोडले गोल फर्काउन सकेन । मध्यान्तरपछि केही सुधारिएको प्रदर्शन गरेको बिर्तामोडका नानी लिम्बुले ४८ औँ मिनेटमा गोल गर्न सकेनन् । आशिष् चापागाईँको पासमा खाली पोस्टमा लिम्बू चुक्दा बिर्तामोड अभागी ठहरियो । खाली पोस्टमा ५१ औँ मिनेटमा आशिष् चापागाईँको प्रहार मोरङका जीवन धामीले क्लियर गरिदिएर आफ्नो टिम विरुद्ध गोल हुनबाट जोगाए । ७० औँ मिनेटमा आशिष् चापागाईँले वान भर्सेस वानको स्थितिमा गोल गर्न नसक्दा बिर्तामोडले सान्त्वना गोल गर्ने अवसर पनि गुमायो ।

 

शनिवारको खेलको म्यान अफ दी म्याच मोरङका जीवन धामी घोषित भए । गोल्ड कप प्रतियोगिताको म्यान अफ दी सिरिज मोरङका विवेक पौडेलले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । मोरङका किशोर गिरी उत्कृष्ट गोलरक्षक बने । सर्वाधिक गोल कर्ता र उत्कृष्ट स्ट्राइकरको उपाधि कर्ण लिम्बुले प्राप्त गरे । लिम्बुले प्रतियोगिता भर चार गोल गरे । वेस्ट डिफेन्सको उपाधि मोरङका प्रवेश दनुवारले पाए । उदयमान खेलाडी आयोजक डाँगीहाट गोल्डकपका मनिष राई र मिडफिल्डर मोरङकै संजोग राई घोषित भए । उत्कृष्ट प्रशिक्षक मोरङका सञ्जीव बुढाथोकी बने ।

विजेता टिम र खेलाडीलाई अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा, आयोजक समितिका अध्यक्ष विक्रम राई लगायतले पुरस्कार वितरण गरे ।

प्रतिक्रिया दिनुहोस्