विवेकको कविता “लिपुलेक लिम्पियाधुरा”


विवेक श्रेष्ठ –

नेपाली हामी रहौला
कहाँ नेपालै नरहे
स्वतन्त्र देश नेपाल हाम्रो
मिच्दै छ सिमाना छिमेकीले
लिपुलेक र लिम्पियाधुरा हुँदै
बाटो बनाए भारतीले
कहाँ हरायो नेता जी को राष्ट्रवाद
लिपुलेक र लिम्पियाधुरामा खुट्टा कमाए
छिमेकी ले नेपाली भूमि टोक्दा
नेपाल र नेपालीलाई लाजमर्दो बनाए
रात दिन सार्दै थियो जङ्गे
पिलरहरू सबै चुपचाप बसे
लालपुर्जा नेपालको छ तर
जग्गा भारतीय भूमिको बनाए
हर्दाहर्दै आज लिपुलेक र
लिम्पियाधुरामा गिद्धहरूले
नङ्ग्रा गाडिरहँदा
तिम्रा राष्ट्रवादका नाराहरू
खै कहाँ हराए
यदि तिमी नेपाल आमाको
सतित्व जोगाउन सक्दैनौ भने
पिडा मा छटपटाइएकी आमाको
आँसु पुछ्ने तागत छैन भने
तिमीलाई भोट दिने हातहरू
लज्जित भएका छन्
तिम्रै अगाडि निरीह नेपालीले
आँसु बगाएका छन्
कसैको गुलामी नबनेको देश हाम्रो
वीर गोर्खालीको देश हाम्रो
आज भारतीय हस्तक्षेप बाट ग्रसित
हुँदा पनि लम्पसार परेर सुतेको छ सरकार
अब गाउँ गाउँ बाट बस्ती बस्ती बाट
उठ्ने बेला आयो
पार्टी, जाती धर्मको आधारमा होइन
देश र राष्ट्रका लागि जुट्ने बेला आयो
हाम्रो देश जोगाउन कति लडे पुर्खाहरू
कति मरे आफै पनि कति मारे शत्रु पनि
हो अब त्यही इतिहास जोगाउन आऊ
आफ्नो मातृभूमि बचाउन आऊ
हिमाल, पहाड, तराई बाट एक
जुट भई वीर गोर्खाली भएर आऊ
किन कि हाम्रो देशको सिमाना छिमेकीले
मिचेको छ
लिपुलेक, लिम्पियाधुरा र कालापानी
छिमेकीले लुट्न खोज्दै छ त्यसैले
सिरुपाते खुकुरीमा धार लगाउने बेला
आएको छ
अब नेपाली एक जुट भएर
उठ्ने बेला आएको छ
कि वार कि पार गर्ने बेला आएको छ ।
जय देश
मेरो प्यारो नेपाल

प्रतिक्रिया दिनुहोस्