प्रदेश १ को जीडीपीमा १५.८२ % योगदानको प्रक्षेपण : बागमतीको सबैभन्दा बढी ३५.८४ %


अर्जुन कुलुङ राई (खनेन्द्र) –

काठमाडौँ, ३० वैशाख। प्रदेश १ को चालु आर्थिक वर्ष २०७६/७७ को कुल गार्हस्थ्य उत्पादन (जीडीपी) उपभोक्ताको मूल्यमा रु.५ खर्व ९६ अर्व हुने प्रक्षेपण छ । राष्ट्रिय योजना अयोग केन्द्रीय तथ्याङ्क विभागका अनुसार प्रदेश तहको वार्षिक कुल गार्हस्थ्य उत्पादनमा प्रदेश १ बागमति प्रदेश पछि बढी योगदान गर्ने प्रक्षेपण रहेको छ ।

प्रदेश १ ले जीडीपीमा १५.८२ प्रतिशतको योगदान गर्नेछ । सबै भन्दा बढी योगदान बागमति प्रदेशबाट भएको देखिएको छ । बागमतिले जीडीपीमा ३५.८४ प्रतिशतको योगदान गर्नेछ । सबै भन्दा कम योगदान कर्णाली प्रदेशले गर्ने देखिन्छ । कर्णालीले ४.२७ प्रतिशत मात्र योगदान गर्नेछ ।

प्रदेश १ को गत आर्थिक वर्ष संशोधित अनुमान रु.५ खर्व ४४ अर्व रहेको छ । गत आ.व.मा राष्ट्रिय तहमा १५.७३ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आ.व.मा १५.८२ प्रतिशत योगदान पुर्‍याउने अनुमान गरिएको हो ।

यसै गरी गत आ.व.मा कुल गार्हस्थ्य उत्पादनको वृद्धि दर ७.४० प्रतिशत थियो भने यस आ.व.मा गिरावट आई ३.४१ प्रतिशत कायम रहने अनुमान गरिएको छ । कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान ३७.१४ प्रतिशतले कृषि क्षेत्रको (कृषि क्षेत्र भन्नाले कृषि, वन तथा मत्स्यपालन समेतलाई जनाउँछ) रहनेछ भने सबैभन्दा कम योगदान ०.४७ प्रतिशत खानी उत्खनन क्षेत्रको रहने अनुमान छ ।

प्रदेश १ पछि प्रदेश ५ ले १४.१८ प्रतिशतको योगदान गर्नेछ भने प्रदेश २ ले १३.७८ प्रतिशतको योगदान गर्ने विभागको तथ्याङ्कले देखाउँछ । सुदूरपश्चिम प्रदेशले ७.२१ प्रतिशतको योगदान गर्नेछ ।

आर्थिक वृद्धिदर भने सुदूरपश्चिममा सबैभन्दा बढी हुने विभागको तथ्याङ्कले देखाउँछ । सुदूरपश्चिमको आर्थिक वृद्धिदर ४.०८ प्रतिशत कायम हुने छ । गत आ.व मा प्रदेश २ को आर्थिक वृद्धिदर राम्रो रहेको थियो ।

कम आर्थिक वृद्धिदर बागमति प्रदेशको रहेको छ । १.२३ प्रतिशत रहने छ । विभागले चालु आ.व. का बस्तु तथा सेवाको उत्पादनको अनुमान तथा सूचकहरू तयार गर्दा होटेल तथा रेस्टुरेन्ट र अन्तर्राष्ट्रिय यातायात क्षेत्र यस वर्षको अन्त्यसम्म जाने छ । र अन्य क्षेत्रका आर्थिक गतिविधि जेठबाट क्रमशः अगाडी बढ्ने अनुमानसहित प्रक्षेपण तयार पारिएको छ ।

विभागका अनुसार औद्योगिक वर्गीकरण अनुसारको आर्थिक क्रियाकलापमा गत आ.व.र यस आ.व.मा बागमती प्रदेश बाहेक सबै प्रदेशहरूमा कृषि क्षेत्रको योगदान हिस्सा सबैभन्दा बढी छ भने बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी रहेको छ ।

यसो हुनुमा बागमती प्रदेशमा सहरीकरण, बढी जनसङ्ख्या, राष्ट्रिय तहका ठुला व्यापारिक कारोबार आदी हुन् । त्यसै गरी राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापार क्षेत्र प्रदेश १, प्रदेश २ र प्रदेश ५ मा दोस्रो हिस्सा मै कायम रहेको छ भने बागमती प्रदेशमा घरजग्गा, भाडा तथा व्यावसायिक कारोबारको क्षेत्रको दोस्रो हिस्सा छ ।

यसै गरी गण्डकी प्रदेशमा निर्माण क्षेत्रको योगदान दोस्रो स्थानमा छ भने शिक्षा क्षेत्रको योगदान कर्णाली र सुदूरपश्चिम प्रदेशमा दोस्रो छ । सबै प्रदेशहरूको जीडीपी खानी तथा उत्खनन क्रियाकलापको योगदान सबै भन्दा न्यून देखिन्छ ।  समग्र मुलुकको आर्थिक वृद्धिदर २.२८ प्रतिशत रहने प्रक्षेपण छ ।

प्रतिक्रिया दिनुहोस्