लकडाउनमा बेलबारीको आइतबारे बजार : कोरोना कहरमा सब्जी व्यापार (भिडियो)


बेलबारी, २ जेठ – कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिमलाई ध्यानमा राख्दै सरकारले लागु गरेको लकडाउनमा पनि मोरङको बेलबारीमा आइतबारको दिन बजारनै लागेको देखियो। बेलबारीको वाड नं. ९ स्थित भक्का चौकमा लागेको आइतबारे बजार देख्दा लकडाउन खोलिएको र कोरोनाको कहर अन्त्य भइसकेको जस्तो देखिन्थ्यो ।बजारमा अधिकांश महिला सब्जी व्यापारी थिए भने केही पुरुष व्यापारीको पनि व्यापार चलिरहेको थियो । मास्क त प्रायले लगाएका थिए तर सामाजिक दुरी भने कायम थिएन । व्यापारीहरूमा कोरोनाको त्रास त थियो तर बजार लगाउनु पाउँदाको खुसी बेग्लै थियो ।

व्यापारीहरूसँगको कुराकानीमा बजार लगाउनु, उनीहरूको बाध्यता रहेको बताए । आय आर्जनको माध्यम नभए पछि कोरोनाको डर भएता पनि बजारमा सब्जी बेच्न बस्नुको विकल्प नभएको व्यापारीहरू बताउँछन् ।

लकडाउन अगाडी विभिन्न पेस गरिरहेकाहरू पनि अहिले तरकारी व्यवसायमा लागेका छन् । सरकारले खाद्यान्न व्यवसायलाई छुट दिएकोले पनि तरकारी व्यवसाय सुरु गर्नेको लर्कोनै लागेको छ । स्थानीय किसानहरूबाटनै तरकारीहरू खरिद गरेर क्रेतासम्म बिक्री गर्न व्यापारीहरू लागिपरेका छन् ।

बेलबारीको मुख्य बजार क्षेत्रमा भने घरघरमा ठेलाको प्रयोग गरेर तरकारी बिक्री गरिरहेका छन् । तर नेपाल सरकारले आइतबार लकडाउन खुकुलो गरेसँगै आजसम्म आइपुग्दा कोरोना संक्रमितको सङ्ख्या गुणात्मक रूपमा बढेर गएको छ ।

अहिले संक्रमित सङ्ख्या २५८ पुगी सकेको छ । तीव्र रूपमा संक्रमित सङ्ख्या बढेसँगै फेरी सरकारले लकडाउनमा कडाइ सुरु गरेको छ । बेलबारीमा भने आइतबारदेखि सडकमा मानिसको आवतजावत तथा सवारी साधन क्रमिक रूपमा बाक्लिँदै गएको छ ।

मासु व्यापार गर्ने, सिटिसफरी चलाउने, ज्याला मजदुरी गर्ने लगायत अन्य पेसा गर्नेहरू, आइतबार वाड नं. ९ को आइतबारे बजारमा भेटिए । एक महिला व्यवसाय सविना चौधरी भन्छिन्, ‘पहिले माछा बेच्थ्यौ तर लकडाउन भए पछि अहिले सब्जी व्यापार गर्न थालेको छौ ।’

सविना एकल महिला रहेछिन् । केही महिना मात्र भएको रहेछ उनको श्रीमान बितेको । ३ जना बालबच्चा रहेछ । श्रीमानसँग आइतबारे बजारमा व्यवसाय गर्न थालेको १५ वर्ष भन्दा बढी भएको रहेछ । लकडाउनमा बन्दा भएको ३ हप्ता पछि बजार लाग्दा राहतको सास फेर्न पाएको जस्तो उनको अनुभूति रहेको थियो । कोरोनाको डर भए पनि परिवारको लागि सब्जी बजारमा बस्न बाध्यता भएको सविना बताऊ छिन । सविना जस्तै अन्य थुप्रै महिलाहरू सब्जी बेच्न आएका थिए । सायद उनीहरूको पनि सविनाको जस्तै बाध्यता थियो ।

बजार लाग्दा स्थानीय किसानले उत्पादन गरेको तरकारी कुहिन पाउने छैन तर सुरक्षित भने पक्कै कोही पनि हुदैन्न । तसर्थ स्थानीय सरकारले नागरिकको घरघरमा सहज गरी तरकारी पुग्न सक्ने सुरक्षित व्यवस्थापन गर्न जरुरी देखिन्छ । सविनाको जस्तो परिवारको पनि आयआर्जन टुट्न दिन हुँदैन । स्थानीय सरकारले सब्जी, व्यापारी र क्रेता सबैको सुरक्षाको लागि उचित व्यवस्थापन गर्न जरुरी छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्