किसानको लाखौँ लगानी डुब्दै : बिक्री नहुँदा सब्जी बस्तुभाउलाई खोले


केशु विरही – मोरङ, ३ जेठ । लकडाउनका कारण पुरै देश बन्दाबन्दी रहँदा समेत राज्यले सब्जी, दूध लगायत अत्यावश्यक खाद्यान्न सामग्रीहरूको निर्बाध रूपमा विक्री वितरण गर्न मिल्ने बताइरहँदा त्यसको संयोजन हुन नसक्दा लाखौँ लगानी गरेर तयार पारेका सब्जी बिक्री नहुँदा बस्तुभाउलाई खोले पकाएर दिनु पर्ने अवस्था आए पछि किसानहरू चिन्तित भएका छन् ।

बेलबारी नगरपालिका वाड नं १० का दुर्गा लिम्बूले करिब १५ कट्ठा जमिनमा बोडीखेति गरेका छन् । फलेर ठिक्क बजार लैजाने बेलामा देशमा लकडाउन सुरु भयो । लकडाउनले गर्दा बजारमा लैजान तयार भएको बोडी त्यतिकै खेरा गइरहेको छ ।

उनले सुरुमा गाउँ गाउँमा डुलाएरै पनि विक्री गर्दै आएका थिए । तर पछिल्लो समय उत्पादन ह्वात्तै बढे पछि, गाउँ गाउँमा डुलाएर बेच्न पनि सम्भव नभएको उनी बताउँछन् । झन् स्थानीय प्रशासनले लकडाउनमा कढाइगरेसँगै आफूले छिमेकी बजार पुर्‍याउन असफल भएको उनी बताउँछन् । त्यसो त अरू बेला २० रुपैयाँ पावा पर्ने बोडी अहिले प्रति केजी रु.१५ मा दिँदा समेत विक्री हुन सकेको छैन ।

विक्री हुन छाडेपछि गाउँमै आफन्तहरूलाई बढ्ने गरेको र बाकी बस्तुभाउलाई खोले पकाएर दिने गरेको लिम्बू बताउँछन् । विगत लामो समयदेखि सब्जीखेति गर्दै आएका लिम्बू अहिले लकडाउनले गर्दा आम्दानीको त कुरै छाडौँ कामदार लाउनसमेत कठिन भइरहेको बताउँछन् । बाहिरबाट निर्बाध रूपमा सब्जी आयात भइदिँदा आफूहरूले उत्पादन गरेका सब्जीहरूले स्थान नपाएको पनि उनको गुनासो रहेको छ ।

बेलबारी १० भाउन्नेकै कृषक दिलमाया लिम्बूको पनि बेथा उस्तै रहेको छ । उनले यस पटक १० कट्टा जति जमिन लिजमा लिएर बोडीखेति गरेकी थिइन तर बोडी विक्री नभए पछि उनलाई अहिले यो पेसा निल्नु र ओकल्नुजस्तै भएको छ । सव्जीखेतिबाटै ६ जनाको परिवार पालिरहेकी लिम्बूलाई अहिले भने परिवार पाल्नै समस्या हुने हो कि जस्तो लागिरहेको छ । उनी यस्तो विषम परिस्थितिमा पनि राज्यले किसानहरूलाई नहेरेकोमा साह्रै दुखी बनेको बताउछिन ।

दुर्गा र दिलकुमारी लिम्बूले मात्र नभएर बेलबारी १० भाउन्ने सृजना टोलका अधिकांशले अहिले खेतमा बोडीखेती गरेका छन् । सबैको पीडा उस्तै रहेको छ । उनीहरू सबै स्थानीयपालिकाले सहजीकरण गरिदिए हुन्थ्यो भन्नेमा छन् । ताप्लेजुङ घर भई विगत २०३४ सालदेखि बेलबारी –१० भाउन्नेमा बसोबास गर्दै आएकी ७८ वर्षीय वृद्ध मनमाया पाहिम लिम्बुका लागि भने किसानले उत्पादन गरेको सब्जी बिक्री नभएर बस्तुभाउलाई दिनु परेको पहिलो अनुभव रहेको बताइन । उनीले भनिन, ‘खै यतिका समय भयो यसपालि भने यो दुर्दशा व्यहोर्नु पर्याे ।’

यता किसानहरूले राज्यले यस्तो बेलामा पनि नहेरेको गुनासो गरिरहँदा बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले भने कोरोनाको त्रासले गर्दा यो समस्या सिर्जना भएको तर विषम परिस्थितिकै बिच पनि नगरपालिकाले किसानका समस्याहरूको समाधान गर्न तयार रहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्