राष्ट्रिय टोलीको बिदाइ : एसियन स्कुल यु–१८ च्याम्पियनसिप फुटबल प्रतियोगिता


विराटनगर / भारतको आग्रहमा आयोजना हुने ४६ औँ संस्करणको एसियन स्कुल यु–१८ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय टोलीको विराटनगरमा बिदाइ गरिएको छ ।

                             (फोटो क्याप्सन : एसियन स्कुल यु–१८ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि जाने नेपाली खेलाडीको बिदाइपछि सामूहिक फोटो खिचाउँदै ।)

प्रदेश १ का मुख्य मन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पा, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली लगायतले खेलाडी टोलीको बिदाइ गरे । अबिर, खादा तथा खेलकुद सामग्री सहित खेलाडी टोलीलाई बिदाइ गरिएको एन्फाका केन्द्रीय सदस्य तथा टोली व्यवस्थापक रुपेश अधिकारीले बताए । उनका अनुसार २० खेलाडी र आठ अफिसियल सहितको २८ सदस्यीय टोली असोज ४ गते भारत प्रस्थान गर्ने छ ।

बिदाइ कार्यक्रममा मुख्य मन्त्री राईले नेपाली फुटबलले नयाँ उचाइ र नयाँ गति लिने विश्वास व्यक्त गरे । यु–१८ राष्ट्रिय टोलीको प्रशिक्षण पहिलो पटक प्रदेश १ को अस्थायी मुकाम विराटनगरमा गरिएकोमा आभार व्यक्त गर्दै राईले विदेशी भूमिमा उच्च मनोबल, पूर्ण आत्मविश्वासका साथमा खेल कला देखाउन नेपाली खेलाडीलाई हौसला प्रदान गरे । ‘विजय हासिल गर्न नचुक्नुस्,’ विजयको अग्रिम शुभकामना दिँदै उनले खेलाडीलाई भने, ‘प्रथम, द्धितिय र तृतीय जे भए पनि विजय प्राप्त गरेपछि प्रदेश सरकारले सम्मान गर्ने छ ।’

प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको भन्दै मुख्य मन्त्री राईले खेलका माध्यमबाट अनुशासित, सभ्य र स्वास्थ्य समाज निर्माण गर्न सकिने बताए । उनले एसियन च्याम्पियनसिपलाई खेलाडीले क्षमता र कौशल प्रदर्शन गर्दै उपाधि जित्ने मौकाका रूपमा सदुपयोग गर्नु पर्ने बताए । सक्षम र शक्तिशाली भएर प्रतिस्पर्धामा अगाडि बढ्न चाहने खेलाडीलाई यो प्रतियोगिता ठुलो अवसर भएको उनको भनाइ छ । खेलाडीले सिङ्गो राष्ट्रको प्रतिनिधित्व गर्ने भएका कारण मुलुकको सिर उच्चो राख्ने खालको प्रदर्शन गर्न आवश्यक रहेको राईको भनाइ छ ।

नेपाली फुटबललाई पूर्ण व्यावसायिक र रोजगार मुखी बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने उनको प्रतिबद्धता छ । राईले प्रतियोगितामार्फत नेपालको प्रतिष्ठा विश्व भर फैल्याउने चेष्टा गर्न खेलाडीलाई आग्रह पनि गरे । ‘विरलै मान्छेले देशका लागि गर्ने मौका पाउँछन्,’ उनले भने, ‘मौका पाएका बेला चुक्नु हुन्न ।’
सामाजिक विकास मन्त्री घिमिरेले फुटबल राष्ट्रको गौरवसङ जोडिएको विषय भएकाले खेलाडीले पनि त्यही हिसाबको प्रदर्शन गर्नु पर्नेमा जोड दिए । प्रदेशमा खेलकुदलाई पहिलो प्राथमिकतामा राखिएको उनको भनाइ छ । घिमिरेले खेलमा हारजित स्वाभाविक हुने भएकाले खेलाडीले सधैँ जित्नका लागि खेल्नु पर्नेमा जोड दिए । एन्फा अध्यक्ष शेर्पाले नेपाली टोलीलाई जितका लागि अग्रिम शुभकामना दिँदै नेपाली फुटबललाई व्यावसायिक बनाउने हिसाबका धेरै काम भइरहेको जानकारी दिए । ‘नेपाली फुटबलको माहौल सिर्जना गर्न खेलाडीलाई पूर्ण रोजगार मूलक बनाउनु पर्छ,’ उनले भने, ‘त्यसका लागि एन्फाले सबै कदम चाल्ने छ ।’

एन्फाका केन्द्रीय सदस्य एवं प्रवक्ता किरण राईले सबै प्रतियोगिताको काठमाडौँमा भइरहने बन्द प्रशिक्षणलाई ‘आइसब्रेक’ गर्दै एसियन च्याम्पियनसिपको बन्द प्रशिक्षण विराटनगरमा गराएर नेपाली फुटबल इतिहास भत्काइएको दाबी गरे । इतिहास भत्काउन पनि भारतको आग्रह अनुकूलको मौसम रहेको विराटनगरमा बन्द प्रशिक्षण राखिएको उनको भनाइ छ । मेयर पराजुलीले नेपालबाट आउने खेलाडी अत्यन्त मेहनती र लगनशील छन् भन्ने सन्देश सबैमा पु¥याउने खालको खेल प्रदर्शन गर्न आग्रह गरे ।

एक महिनादेखि विराटनगरमा भइरहेको बन्द प्रशिक्षणबाट नेपाली खेलाडीको टिम तयार पारिएको हो । पहिलो पटक नेपाली फुटबल टोलीले यस प्रतियोगितामा सहभागिता जनाउन पाउने भएपछि एक महिनादेखि टोली बन्द प्रशिक्षणमा छ । भारतको आग्रहमा आगामी असोज ४ गतेदेखि प्रतियोगिता सुरु हुँदैछ । १० दिन सम्म चल्ने प्रतियोगिताका लागि नेपालका तर्फबाट दिनेश हेन्जनको कप्तानीमा २० जना खेलाडी चयन गरिएको छ ।

मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले प्रतियोगिताका लागि टोली पूर्ण रूपमा तयार रहेको जानकारी दिए । खेलाडीलाई आग्राको वातावरण अनुकूल बनाउन अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले विराटनगरलाई बन्द प्रशिक्षण गराउने थलोका रूपमा रोजेको श्रेष्ठको भनाइ छ । उनी सन् १९८९ मा १६ वर्ष मुनिको राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका पूर्व खेलाडी पनि हुन् । उनले सन् १९९२ मा १९ वर्ष मुनिको राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । विदेशी भूमिका खेलेको त्यही अनुभवलाई संगालेर उनैले अहिले राष्ट्रिय टिममा आबद्ध खेलाडीलाई दबाब बाहिर रहेर खेल्न अभ्यस्त गराइरहेका छन् ।

श्रेष्ठका अनुसार ४,४ र २ को रणनीतिमा मैदानमा उत्रने नेपाली टोलीले खेल अनुरूप आक्रामक बन्दा भने पुरानै शैली ४,३,३ को रणनीति अपनाउने छ । एन्फाका केन्द्रीय सदस्य तथा नेपाली टिमका व्यवस्थापक रुपेश अधिकारीले बन्द प्रशिक्षणको व्यवस्थापन र खेलाडीको अभ्यासमा कुनै कमी आउन नदिएको बताए । राष्ट्रिय टिमको नेत्रृत्वदायी भूमिकामा रहेका हेन्जन त्रिभुवन आर्मी क्लबका खेलाडी हुन् । धनुषाका हेन्जनले यस अघि १६ र १९ वर्ष मुनिको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।
कप्तान हेन्जन भने नेपाली टिमले विदेशी भूमिमा उत्कृष्ट खेल देखाउने बताए । ‘यस अघिका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली सिनियर टिमले हार बेहोरेको तितो अथार्थ हामीसँग छ,’ उनले भने, ‘सिनियर टोलीले हार बेहोर्दा भएको घाटालाई पूर्ति गर्ने हिसाबमा हामी मैदानमा जाने छौँ ।’ नेपाली टिममा रहेका २० जना मध्ये १३ जनाले यस अघि अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । सात जना नयाँ अनुहार छन् ।

नेपाली टिमका तर्फबाट गोलरक्षकको भूमिकामा विष्णुकुमार केसी, विशाल सुनार र सूर्य अधिकारी मध्ये एक जना रहने छन् । विकास खवास, नवीन गुरुङ, राजन गुरुङ, असीम गुरुङ, रन्दिप पौड्याल र सजिन राई डिफेन्सको भूमिकामा रहने छन् । नितिन थापा, मनिष थापा, जय गुरुङ, सेतेहाङ आङ्देम्बे, सुरज ज्यू ठकुरी र अनिल महर्जन मिडफिल्डर हुन् । स्ट्राइकरमा कप्तान दिनेश हेन्जन, बुद्ध बल तामाङ, रितिक खड्का, अनुप गुरुङ र टिका गुरुङ रहेका छन् । मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठ, प्रशिक्षकमा पासाङ तामाङ, गोलरक्षक प्रशिक्षकमा चक्रबहादुर तामाङ, टिम व्यवस्थापक रुपेश अधिकारी, अफिसियल दीपेन्द्र तिवारी, रेफ्री श्रवण लामा, फिजिओ प्रवेश भट्राई र पत्रकार किशोर बुढाथोकी टोलीमा छन् ।

प्रतियोगिता अन्र्तगत समूह ‘क’ मा रहेको नेपालले थाइल्याण्ड, इन्डोनेसिया र चीनसँग प्रतिस्पर्धा गर्ने छ । त्यसै गरी समूह ‘ख’ मा आयोजक राष्ट्र भारत, श्रीलङ्का, दक्षिण कोरिया र मलेसिया रहेका छन् । नेपालले असोज ७ गते थाइल्याण्डसंग पहिलो खेल खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्