प्रथम स्मृति नकआउट फुटबल प्रतियोगिताको उद्घाटनमा बेतना विजयी


बेलबारी, मोरङ / मोरङको बेलबारीमा प्रथम स्मृति नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बेतना फुटबल क्लब बेलबारी विजयी भएको छ । शनिवार भएको उद्घाटन खेलमा सगरमाथा युथ क्लब बिराटचोकलाई १ का विरुद्ध ३ गोल गर्दै बेतना फुटबल क्लब बेलबारी सेमिफाइनलमा पुगेको हो ।


प्रतियोगिता स्मृति फुटबल युवा समूह बेलबारी को आयोजना र इमानसिंह फुटबल क्लबको सह आयोजनामा बेलबारी –३ स्थित बेलबारी रङ्गशालामा शनिवारबाट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले गरेका छन् । खेल असोज १३ गते सम्म चल्ने छ ।

शनिवारको खेलमा बेतना फुटबल क्लबका आमास मगर खेलको पहिलो मिनेटमा नै गोल गरेका थिए । खेलको १५ औँ मिनेटमा अर्को खेलाडीले दोस्रो गोल हानेपछि मध्यान्तरसम्म खेल २–० को अवस्थामा पुगेको थियो । दोस्रो हाफमा आमोसले नै अर्को गोल हान्दै खेललाई ३–० को अवस्थामा पुर्‍याएका थिए । खेलको अन्तिम मिनेटमा सगरमाथा युथ क्लबले सान्त्वना गोल गर्दै खेलको नतिजा १–३ बनाएका थिए । बेतनाका आमोस खेलको मेन अफ द म्याच भए ।


प्रतियोगितामा सगरमाथा युथ क्लब सुन्दरहरैचा, बेतना फुटबल क्लब बेलबारी, बेलबारी फुटबल क्लब बेलबारी, डागीहाट फुटबल क्लब लक्ष्मीमार्ग रहेका छन् । त्यस्तै लेटाङ फुटबल क्लब लेटाङ, नवसोच युवा समूह बेलबारी, कुसुमे फुटबल क्लब केराबारी र आयोजक समेत गरी ८ टिमको सहभागिता छ । आइतबारको खेल बेलबारी फुटबल क्लब र डांगीहाट फुटबल क्लब लक्ष्मीर्मा बिच हुनेछ ।


प्रतियोगिताको विजेताले नगद रु ३० हजार ५ सय र दितिय हुनेले नगद रु १५ हजार ५ सय साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिताबाट बचेको रकमले बेलबारी नगरभित्रका सरकारी बिद्यालयकमा अध्ययनरत विद्यार्थीहरूलाई पठनपाठनमा सहयोग गर्ने मुख्य उद्देश्य रहेको आयोजकले जानकारी दिएको छ । आईताबारको दोस्रो खेल “नव सोच युवा समूह“ बेलबारी र “लेटाङ युथ क्लब“ बिच हुने छ ।

प्रतिक्रिया दिनुहोस्