मास्क लगाउन डब्ल्यूएचओको सुझाव


काठमाडौँ, २४ जेठ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मास्क लगाउनेबारे नयाँ दिशानिर्देश जारी गरेको छ । यसअघि स्वस्थ व्यक्तिले मास्क लगाउन नपर्ने बताएको डब्ल्यूएचओले सामाजिक दूरी कायम गर्न सम्भव नहुने स्थानहरूमा जाँदा मास्क लगाउन भनेको छ ।

सार्वजनिक यातायात, बजार, शरणार्थी शिविर जस्ता स्थानमा जाँदा कम्तीमा घरमै बनाइएको कपडाको मास्क भए पनि लगाउन डब्ल्यूएचओले सल्लाह दिएको छ । यो नियम विश्वका धेरैजसो देशहरूले यसअघि नै लागू गरिसकेका छन् ।

डब्लुएचओको कोभिड–१९ सम्बन्धमा प्रमुख प्राविधिक विज्ञ डा. मारिया भान केर्खोभले कपडाको मास्क मात्रै लगाउँदा पनि कोरोना भाइरस मिसिएका थुकका छिटाहरूबाट केही हदसम्म जोगिन सकिने उल्लेख गरेकी छन् ।

कोरोना भाइरसको संक्रमण फैलिने क्रमसँगै सबैले मास्क लगाउन थालेपछि विश्वभर मास्क अभाव भएको थियो । त्यति बेला डब्लुएचओले संक्रमित व्यक्तिको नजिक जाने र संक्रमित व्यक्तिबाहेक अन्य स्वस्थ व्यक्तिले मास्क नलगाए पनि हुने बताएको थियो ।

डब्ल्यूएचओको परिमार्जित सुझावमा स्वस्थ मानिसले पनि सार्वजनिक स्थानमा जाँदा वा घर बाहिर निस्कँदा सम्भावित संक्रमणबाट जोगिन मास्क लगाउनुपर्ने उल्लेख छ । तर ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरूले भने मेडिकल मास्क लगाउर्नैपर्ने डब्ल्यूएचओले जनाएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्