कामधेनु दुग्ध विकास सहकारीले किसानलाई आत्मनिर्भर बनाउँदै (भिडियो)


एलएन गच्छेदार – सुनसरी, २६ जेठ। सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका २० मा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडले आत्मनिर्भर बन्ने एउटा आशा प्रदान गर्दैछ ।

यो दुग्ध प्रशोधन उद्योगको रूपमा सञ्चालनमा ल्याएको नेपालकै पहिलो हो । राज्यलाई दुग्धमा आत्मनिर्भर बनाउन यश सहकारी मार्फतबाट दूध कृषकको लगानी र सहभागी भएको देख्न सकिन्छ ।

दुर्गम तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने कृषकहरूलाई दुग्ध उत्पादक सहकारी संस्था मार्फत सङ्गठित गर्दै कामधेनु संस्थामा प्राप्त दुग्ध प्रशोधन तथा बजारीकरण गराई ग्रामीण अर्थतन्त्रलाई सुदृढ तुल्याइएको छ ।

लाखौँ रुपैयाँ सहरबाट गाउँमा पुर्‍याउने माध्यम बनेको यस कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडले समृद्ध नेपाल सुखी नेपालीको ध्येय पूरा गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।

तर अहिले विश्व महामारी कोभिड १९ कोरोना भाइरसको जोखिमले गर्दा देशमा लकडाउनको घोषणा भएसँगै प्रदेश १ का विभिन्न जिल्लाबाट दैनिक २० हजार लिटर दुग्ध सङ्कलन हुँदै आएकोमा अहिले १० हजार लिटर मात्र दैनिक रूपमा सङ्कलन गरेको कामधेनुका दुग्ध सङ्कलन प्रमुख मेघराज लुइँटेलले बताउँछन् ।

लकडाउनको समयमा पनि कामधेनुले आफ्नो कार्यक्षेत्रका जिल्लामा सदस्यलाई पशु बिमा, सुलभ कर्जा, दुग्ध व्यवस्थापन र ढुवानीको व्यवस्थापन तथा भण्डारण, तालिम लगायत कार्य गरी कृषकको आर्थिक स्तर उकास्न ठुलो भूमिका निर्वाह गरेको लेखा तथा प्रशासन प्रमुख प्रशुराम कार्कीले बताए ।

मोरङ ग्रामथान ७ का व्यावसायिक रूपमा कृषि कर्म गर्दै आएका दुग्ध किसान यादव ढकालले कामधेनुले लकडाउन समयमा दैनिक ६०० लिटर दुग्ध लिएको कृषकको हरेक कर्ममा सहजीकरण गरेको बताउँछन् ।

अहिले सहकारी विभाग तथा प्रदेश १ सरकारको अनुदान सहयोगमा नयाँ प्रशोधन उद्योग तथा धुलो दुग्ध उत्पादन उद्योगको स्थापना कार्य अगाडि बढाएको छ । यसमा किसानको पनि प्रत्यक्ष लगानी रहेको कामधेनुका अध्यक्ष बाबुराम खत्री बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्