अमेरिकी राष्ट्रपति ट्रम्पले चार राज्यमा चुनावी सभा सुचारु गर्ने


काठमाडौँ, २९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी निर्वाचनका लागि प्रचारप्रसार थाल्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले चार राज्यमा आफ्ना चुनावी सभाहरू आयोजना गर्ने बताएका छन् । गत वर्षको अन्तिमदेखि विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण स्थगित भएको चुनावी सभा पुनः सुचारु गर्ने ट्रम्पले बताएका हुन् ।

कोरोनाका कारण विगत तीन महिना खेर गएको भन्दै राष्ट्रपति ट्रम्पले अब भने चुनावी र्‍याली र सभालाई निरन्तरता दिने बताएका हुन् । ह्वाइट हाउसमा पत्रकार सम्मेलन गरेर राष्ट्रपति ट्रम्पले ओकाहोमा, फ्लोरिडा, एरिजोना र उत्तरी क्यारोलीमा चुनावी सभाहरू थाल्ने बताएका हुन् ।

शुक्रवारबाट आफूले र्‍याली थाल्ने उनले बताएका हुन । जारी कोरोनाको महामारी नियन्त्रणका लागि अपनाइने मापदण्डका बारेमा भने उनले केही खुलाएनन् । विश्व स्वास्थ्य सङ्गठनले अमेरिकालगायत विश्वभर कोरोना नियन्त्रणमा नआइसकेकाले न्यूनतम मापदण्ड पूरा गरेर मात्र आफ्ना गतिविधिहरू सञ्चालन गर्न आग्रह गर्दै आएको छ ।

कतिपय देशअरुले लकडाउन जारी राखेपनि अमेरिकामा भने कोरोना नियन्त्रणका लागि लकडाउन गरिएको छैन । जसका कारण अमेरिकामा मात्र एक लाख भन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपति निर्वाचन हुँदै छ ।

निर्वाचन नजिकिन थालेपछि दलहरूले चुनावी सभालाई तीव्र पार्नुपर्ने भए पनि कोरोना महामारीले सबै गतिविधिहरू प्रभावित हुँदै आएका छन् । आगामी निर्वाचनका लागि राष्ट्रपति ट्रम्पका प्रतिस्पर्धीको रूपमा डेमोक्र्याट्सका तर्फबाट पूर्व उपराष्ट्रपति जो विडेन उम्मेदवार रहेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्