डाॅ गोविन्दराज भट्टराईका “सम्झनाको सागरमा केही दिन” : अमर बानियाँ लोहोरो

अमर बानियाँ लोहोरो – सिक्किम, भारत, ३२ जेठ।  त्रिफला राष्ट्रिय पुस्तकालय, झापा नेपालका संस्थापक अध्यक्ष श्री, प्रेमप्रकाश फलारीज्यूद्वारा मेरो मोबाइल-(मेसेन्जर)-मा प्रेषित श्रद्धेय सर् डाॅ गोविन्दराज भट्टराईज्यूको जीवनका पूर्वाधमा आधारित”सम्झनाको सागरमा केही दिन”- का आवाजहरूलाई सुन्ने र ती सागरशब्दका लहरहरूलाई
मेरा भावनाले पनि परिदर्शन गर्ने मौका मिल्दा सो सागरका मूल स्रोतमा रहेका व्यक्तित्व अनि प्रवाहशक्तिका सम्पूर्ण स्रोतप्रति हर्ष प्रकट गर्दै तिनै ध्वनि तरङ्गहरूले आभास/प्रतिभास गराएका केही कुराहरू छोटकरीमा नराखी सकिनँ !

पहिलो पटक डाॅ गोविन्दराज भट्टराईज्यूलाई विशेष सार्क नेपाली सांस्कृतिक मैत्री सङ्घ र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको निम्तामा गान्तोकबाट कविवर महेश प्रसाईँज्यू र पत्रकार डम्बर गिरीजी का अगुवाइमा चैत्र, २०६८-को ताका काठमाडौँ जाँदा नजिकबाट देखेको र उहाँको अति नम्र प्रश्नको छोटै उत्तर दिएको मात्र हो, यो प्रसङ्ग उतिखेरै दामोदर पुडासैनी प्रतिभा पुरस्कार सम्मान समारोहको…

मलाई उसै दिनदेखि नै देवतुल्य लाग्दै आएको हो , र यहाँ उनै महान् व्यक्तिको जीवन सङ्घर्षका कुराहरू यसरी सर्र सुनेपछि प्रतीत गरिएका कुरालाई केही थोरै हरफहरूमै सही नदर्साई नसकिने भयो किनभने उहाँका मन, मस्तिष्कको क्यामेराले उतारेका ती शब्दचित्रहरूले मलाई पनि छोयो…मेरो मलाईसमेत घचघच्याइ झन् एक/दुई कथनले त मेरै अतीतलाई भित्री सम्मान उधिनिदियो…

खैर छोड़िदियौं मेरा कुरा। उहाँको संस्मरणात्मक शब्दचित्रका श्रव्य-शृङ्खला एक्कासि दुर्गम पहाडको विकट मार्ग भएर सुरुवात हुँदछ…मानिलियौँ छायाङ्कनकै दृश्यहरू…दृश्यहरू सबै मनस्पर्शी त छन् नै…ठाउँ-ठाँउका सिनले एकदमै जीवन्तमय झझल्को आभास गरायो…

शायद उहाँकै भाग्यले भविष्यप्रतिको अनुकूलता खोजेको हुनपर्छ त्यसरी लोकेसन खोजेको अर्थ…

थोरै-थोरै सुटिङ गर्दै प्याक गर्नुको अर्थ , त्यस उता ताप्लेजुङमा पुगेपछि भने सुचारूपले क्रमशः निर्माणका कार्यहरू अघि बढ्यो वातावरणले पनि खुलेरै साथ दियो अतः दिएकै रहेछ भन्ने तथ्य वर्तमान समयको पर्दामा हेर्दा लोक नै प्रस्ट भयो । तादी फेरबदलको निर्णय उहाँका पिताश्री-रूपी भनौँ, डाॅ गोविन्दराज भट्टराईज्यूको यही प्रख्याती प्राप्त चलचित्र-(जीवन-यात्रा)-का प्रमुख निर्देशक तथा माताजी-रूपी सहायक निर्देशकका लक्ष्य,निर्णय र प्रबन्धनकै कारण हुन भन्ने लाग्दछ यद्यपि आधा श्रेया अदृश्य शक्तिलाई नै जाँदछ किनभने यसै पनि मलाई त यो जिन्दगी आधा नाटक आधा यथार्थ हो भन्ने लाग्दछ…!

हो मलाई कुनै सुपरहित चलचित्रझैँ लाग्यो ती देखाइएका चारित्रिक कलाकार र संवादहरूलाई दृश्यावलोकन गर्दा… त्यसताकका पहाडी समाज, पारिवारिक परिवेश र त्यतिखेरको सारै सोझो,सापट मानसिकताको निर्मल सङ्लो परिचय दिँदछ। उति बेला हाम्रो मौलिकताको विशुद्ध विवरण…उस बखतको ग्राम्य संस्कारको प्रलोभन झन् च्याङथापुको सम्झनाहरू अझ बाक्लो त्यस्तो अपुग अनि अभावले मुख्य नायकलाई चर्चित र दर्शकप्रिय मात्र होइन पूर्ण सफल र सार्थक पनि बनाउँदछ यस जीवन यात्राका प्रस्टै उदाहरण हुनुहुन्छ नायक गोविन्दराज भट्टराई जो पछि डाॅ गोविन्दराज भट्टराईज्यूका सुनामले प्रतिष्ठित हुनुहुन्छ ।

उहाँको जीवनवृत्तमा आधारित रचना वाचनको पाचौं शृङ्खलासम्म सुन्नालेनै मजस्तो एक अति साधारण दर्शक/श्रोतालाई…ज्यू यस्तै-यस्तै लाग्यो ।

म विश्वस्त छु विश्वभरि फैलिएका हाम्रा भाषा-साहित्य र संगीत-कला क्षेत्रका मात्र होइन इतिहास आदि क्षेत्रकै पाठक श्रोताहरूले पूर्ण शृङ्खला सुन्नेछन् किंवा उक्त किताबका सम्पूर्ण खण्ड पढ्नेछन् किनभने उहाँको मिलनसारता, पहुँच र फाँट विश्वस्तरमै फैलिँदो छ भन्ने कुरा भारत नेपालका केही
विद्वान विदुषी एवम् सर्जकहरूबाट ज्ञात भएको छ ।

उहाँका ती स्मृति र विस्मृतिभित्रका तिता-मिठा कुराहरूलाई इलेक्ट्रोनिक्स मिडियाका प्रस्तोताले पनि खुबै रोचकता अनि प्रभावशाली शैलीमा प्रस्तुत गर्नुभएर सम्पूर्ण श्रोतागणको मन छुन सफलीभूत भएका छन् भन्ने कुरामा पनि विश्वस्त छु । मूलतः मन छुने खालका अन्तर्वस्तु र बहिर्यथार्थ भएका हुनाले होला हृदयबाटै कलकलाएका सुनिन्छन् ध्वनि-प्रवाह पनि ।

म यहाँ मलाई लागेका कुराहरूमध्येमा थोरैलाई मात्रै त्यो पनि संक्षिप्तमै सम्बोधन गरिरहेको छु, जस्तै एक ठाउँ उहाँका बुबाले माथि झुन्ड्याएर राखेका मकैका जुत्तामा भएका जुङालाई त्यति तलैबाट फू…

फुक्दा कसरी हल्लिन सके होलान् त्यो तथ्यसित के रहस्य थियो होला त्यस कुराको जिज्ञासा भने अतीतको तुवाँलोभित्रै रुमल्लिएर गएछ ! यो रहस्य यस हेतुले पनि प्रखर भएको होलाकी उहाँका बुबासित ज्योतिष विध्याको कुनै सूत्र पो थियो कि…भन्ने भान गराउनु स्वाभाविक हो। अर्को उठाउनुपर्ने प्रसङ्ग कथित सिरिजलाई एक-एक गरी सुन्दै जाँदा एक ठाउँ लिम्बू बाहुल्य भएको गाउँमा पुग्दा देखिएका छुट्टै दृश्यहरू…सारै रमाइलो र मनमोहक लाग्यो हाम्रा लिम्बू हाउभाउ र त्यस्तै अनन्य दृश्यहरूले चोक्खो मनोरञ्जन पनि दिन सकेको छ…

आदिकादेखि नै पलायन हुने वा बसाइँ सर्ने हाम्रो साबिक परम्पराले नै होला आज विश्वपटलमै जीवन गरिरहेका कुन नेपाली भाषीको मनलाई चाहिँ हाम्रा महाजातिय विधताले नछुला र ! मलाई गर्व लाग्छ त्यस्ता अनेकन् भाषिक, सांस्कृतिक आदिका मौलिक हिसाबले हामी धेरै नै सम्पन्न छौँ । कर्तव्य, पौरखता, परायणता र स्वाभिमानका दृष्टिले पनि अझैसम्म त उच्च छौँ ! वीर छौँ…

सो आत्मपरक जीवनीभित्र जीवनका धेरै रसहरू पाउँ नसकिने छ। यता दार्जिलिङ क्षेत्रले दिएको अथवा भारत भूमिबाट आर्जित भएको शिक्षा/ज्ञानको अनुभूति पनि बहुमूल्य वा प्रिय पाटो नै लाग्यो हुनतः ती अविस्मरणीय कडी र पलहरूको तितो-मिठो स्वाद त वास्तवमा डाॅ गोविन्दराज भट्टराई सर्-लाई नै राम्ररी थाहा छ अनि केही अघि भनिएझैँ भ्रातापक्षमा थाहा हुन सक्ला , यहाँ यस पङ्क्तिकारले क्षणिक सुनेर मनमा उठेका हृदय छुन सफल थोरै विन्दुलाई मात्र सूत्रात्म तवरमा डाॅ गोविन्दराज भट्टराई सर् र कृति प्रबन्धन/प्रकाशन समक्ष यसरी उजागर गरेको हुँ ।

यसै सिलसिलामा अर्को एक बिन्दुलाई उठान गरौँ उक्त मूल्यवान् सामग्रीमा प्रायः सबै सन्तानमै आमाको ममत्व र महिमा अतुलनीय अवर्णनीय हुँदो रहेछ जुन मनोभावलाई पाठक/श्रोता महानुभावहरूले पनि…

सम्झनाको सागरमा केही दिनभित्र यस्ता मूल्यवान् धेरै वस्तुहरू छन् सागरतलमा बहुमूल्य हिरा मोती छन्…

अब अनावश्यक नलम्बाएर यो छोटो प्रतिक्रियालाई टुङ्ग्याउनै बेस ठानेको छु किनभने एउटा सानो जुनकिरीले सूर्यलाई देखाउनुझैँ नहोस् ज्यू यति होकी यशस्वी डाॅ गोविन्दराज भट्टराई सर् एक जन्मजातै कुशाग्र बुद्धि र सशक्त स्मरण शक्ति लिएर आउनुभएको नितान्त साहित्य प्रतिभा हुनुहुँदो रहेछ जो एक कुलीन ब्राह्मण परिवारमा जन्मिएर चित्रा सेउला र ढुङ्गामाटाका घरहरू हुँदै त्यस्तो दुःख भुक्तमान झेलेर पनि पढ्दै-पढ्दै…फलस्वरूप पछि

नेपाल राष्ट्रकै सबैभन्दा ठुलो र पुरानो T.U. त्रिभुवन विश्वविद्यालय (अङ्ग्रेजी विभाग प्रमुख) मात्र नभएर आफ्नो देशका र सम्पूर्ण विश्वकै नेपाली-भाषी सर्जकहरूलाई उत्साह/उत्प्रेरणाका साथ दिग्दर्शन दिनुहुँदै… स्वयम् पनि समालोचना र सिर्जनाका रश्मि पोख्नुहुँदै सन्सारका सत्तराधिक देशहरूमा आयोजित सेमिनार समारोहरूमा व्याख्यान दिई आफ्नो प्राज्ञिक प्रस्तुति दिनुभई उत्तरोत्तर प्रख्यति आर्जित गरिरहनुभएको व्यक्तित्वद्वारा लिखित सो अनमोल कृति सम्झनाको सागरमा केही दिन-को केवल पाँच शृङ्खला सुन्दै यस्तो लाग्यो भविष्यमा कसै व्यक्ति वा कुनै सन्सथाद्वारा फिल्माउन सकिएमा पछिका धेरै पिँढीलाई पनि मनोरञ्जन र ज्ञानको फ्यूजनगरी निस्किएको विशेष तत्त्वले निश्चय लाभ पुर्याउँनेथ्यो कि यो मेरो व्यक्तिगत अवधारणा हो ।

अन्तमा थपेरै भन्न चाहन्छु श्रद्धेय डाॅ गोविन्दराज भट्टराई सर्-को सम्पूर्ण शृङ्खला सम्झनाको सागरमा केही दिन-लाई अध्ययन अध्यापन गर्नुहुने अनुसन्धाता कतिले गोता लगाउँदै जाँदा महासागरमै पो पुग्ने हुनकी सो सम्भावना समयले नै तय गर्ला ।

 

 

प्रतिक्रिया दिनुहोस्