राष्ट्रिय फुटबलका पूर्व कप्तान सागर थापासहित ६ खेलाडीलाई म्याच फिक्सिङ मुद्दामा सफाइ


काठमाडौँ, २ असार । म्याच फिक्सिङको अभियोगमा राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापासहित सबै खेलाडीले अन्तिम सफाइ पाएका छन् ।

तत्कालीन फुटबल टोलीका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकाससिंह क्षेत्री, पूर्व खेलाडी अन्जन केसी र डेबिड थापाले अन्तिम सफाइ पाएका हुन् ।

सर्वोच्च अदालतले मङ्गलवार विशेष अदालतकै फैसला सदर गर्दै तत्कालीन फुटबल टोलीका सबै खेलाडीलाई सफाइ दिएको हो । मङ्गलवार सर्वोच्चमा न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गर्दै उनीहरूमाथि लगाइएको मुद्दाको कानुनी आधारमाथि प्रश्न उठाएको छ ।

२०७२ साल असोज २७ गते प्रहरीको अपराध महाशाखाले विभिन्न देशसँगको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा तत्कालीन कप्तान सागर थापासहित खेलाडीलाई पक्राउ गरेको थियो ।

उनीहरूलाई २०७५ जेठ २४ गते विशेष अदालतले म्याच फिक्सिङ सम्बन्धी कानुन नभएको भन्दै सफाइ दिएको थियो । उनीहरुविरुद्ध राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्