भारत र चीनको भिडन्तमा २० भारतीय सेनाको मृत्यु


काठमाडौँ, ३ असार । विश्वलाई नै तरङ्गित बनाउने गरी भारत र चीनको विवादित सीमा क्षेत्र लद्दाखमा चिनियाँ सैनिकसँगको भिडन्तमा २० भारतीय सेनाको ज्यान गएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले भारतीय सेनालाई उद्धृत गर्दै हिजो र अस्ती अर्थात् १५ र १६ जुनमा भएको भिडन्तमा भारतीय सेनाका एक अधिकारी र १९ जवानको मृत्यु भएको जनाएको छ । सुरुमा मंगलबार ३ सैनिकको ज्यान गएको जानकारी दिएको भारतीय सेनाले बुधवार सबेरै अन्य १७ सैनिकसहित जम्मा २० सैनिकले ज्यान गुमाएको अद्यावधिक गरेको हो ।

भारतीय सेनाका अनुसार पछिल्लो ४५ वर्षमा सीमा क्षेत्रमा भएको यो सबैभन्दा डरलाग्दो भिडन्त भएको र यसमा अधिकांश घाइते सैनिकहरूले गम्भीर चोटका कारण ज्यान गुमाएका बिबिसीले समाचारमा उल्लेख गरेको छ ।

भारतको सरकारी समाचार संस्था पीटीआईले भारत र चीनका सेनाबिच केही घण्टासम्म भीषण झडप भएको जनाएको छ । झडपमा कयौँ भारतीय सेना घाइते र बेपत्ता छन् । एएनआईले सरकारी स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार यो संख्या अझै बढ्न सक्नेछ ।

पूर्वी लद्दाखको गलवान क्षेत्रमा सोमबार राति दुवै पक्षका सैनिकबिच हिंसात्मक झडप भएको भारतीय र चिनियाँ सेनाले छुट्टाछुट्टै रूपमा पुष्टि गरेका थिए । झडपमा चिनियाँ सेनातर्फ पनि हताहती भएको भारतीय सेनाले दाबी गरे पनि चिनियाँ पक्षले यसको पुष्टि गरेको छैन ।

लद्दाखको सीमा क्षेत्रमा एक महिनादेखि भारत र चीनका सैनिक आमनेसामने भएपछि तनाव बढेको थियो । जसको निकास खोज्न जुन ६ का दिन दुई देशका सैन्य अधिकारीबिच वार्ता भएको थियो । त्यसयता लगातार थुप्रै चरणका वार्ता भए पनि तनाव भने कम भएको थिएन ।
पछिल्लो समय लद्दाखमा दुवै पक्षले भौतिक संरचना निर्माणको गति र सेना तथा हतियारको संख्या वृद्धि गरिरहेका थिए ।

भारतीय विदेश मन्त्रालयले जुन ६ मा भएको सहमति चीनले तोडेको आरोप लगाएको छ भने चिनियाँ विदेश मन्त्रालयले आफ्नो सीमामा भारतीय सेना आउँदा झडप भएको प्रतिक्रिया दिएको छ । विवाद समाधानका लागि हाल दुवै देशका सैन्य तथा सरकारी वरिष्ठ अधिकारीबिच वार्ता भइरहेको पनि जनाइएको छ ।

सन् १९७५ पछि पहिलो पटक चीन सँगको सीमा नियन्त्रण रेखामा भएको झडपमा भारतीय सेनाको ज्यान गएको हो । यसअघि सन् १९७५ मा दुई देशका सेनाबिच अरुणाञ्चलको तुलुङलामा गोली चल्दा असम राइफल्सका चार जवानको ज्यान गएको थियो । त्यसअघि सन् १९६२ मा भारत र चीनबिच एक महिने युद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्