किसानको पिडा सुन्न प्रदेश १ कृषि राज्यमन्त्री धान खेतमै पुगे (फोटो फिचर)


बेलबारी, ३ असार । स्वास्थ्य माटोबाट मात्र स्वास्थ्य बाली, बिरुवा हुन्छ भन्ने कुरामा ध्यान पुराउनु किसानलाई प्रदेश नं. १ भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले अनुरोध गरेका छन् । किसानहरूसँग भेटघाट तथा समस्या बारे बुझ्न बेलबारी नगरपालिका पुगेका मन्त्री मगरले स्वास्थ्य बालीमा ध्यान दिन किसानहरूलाई आग्रह गरेका हुन ।

किसानको माझ पुग्दा मन्त्री मगरलाई किसानहरूले खुसीले स्वागत पनि गरे, गुनासो पनि पोखे । मन्त्री मगरसँगै अनुगमनमा सांसद राजकुमार ओझा, बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदी, उपप्रमुख ढाका कुमारी पराजुली लगायतको सहभागिता रहेको थियो । मलको अभावमा उत्पादनमा कमी आउने किसानको प्रमुख गुनासो रहेको थियो। मल विनै धान रोप्न बाध्य भएको किसानहरूले बताए । बिउको अभाव पनि किसानको अर्को प्रमुख समस्या बनेको किसानहरूले मन्त्री मगरलाई गुनासो पनि पोखेका थिए।

सरकारको प्रमुख ध्यान पनि मल, बिउ, बिजुली र सिँचाइमा रहेको मन्त्री मगरले बताएका छन् । बेलबारी सिँचाइको क्षेत्रमा राम्रो रहेको बताउँदै उत्पादनको हिसाबले असाधै उत्पादनशील जमिन अनुगमनको क्रममा पाएको मन्त्री मगरले बताए । मलको सन्दर्भमा मन्त्री मगरले रासायनिक मलको कम प्रयोग र प्राङगारिक मलबाट स्वास्थ्य उत्पादन कसरी गर्ने, तर्फ ध्यान दिनु पर्ने बताएका छन् । रासायनिक मल आफ्नै देशमा उत्पादन नभएको र कारखानाको सम्भावना पनि नरहेको उनले बताए ।

रासायनिक मलको प्रयोग कमी गर्न तर्फ जोड दिँदै मन्त्री मगरले भने,“पशु फार्महरू तथा विभिन्न क्षेत्रबाट प्राङगारिक मल विशिष्टकृत गरेर झोल मललाई अलि बढी प्रयोग गरेर रासायनिक मलको विकल्प पनि दिन सक्छौ । स्वास्थ्य माटोबाट मात्र स्वास्थ्य बाली बिरुवा हुन्छ भन्ने कुरामा ध्यान पुराउनु पर्छ । रासायनिक मलको बढी प्रयोगले रोग र किराको प्रकोप हुन्छ र निराकरणको लागि विष प्रयोग हुन्छ । त्यो विषले माटोको गुण समाप्त गर्दिन्छ । अन्ततः मरुभूमि करण तिर लाने हुनाले स्वास्थ्य माटो जोगाउने अभियानमा रासायनिक मलको प्रयोगमा कम गर्नु पर्छ ।”

किसानको आम्दानी बढाउने अभियान तर्फm प्रदेश सरकार लाग्ने मन्त्री मगरले बताएका छन् । प्रदेशको यस आर्थिक वर्षको बजेटमा कृषिलाई धेरै सम्बोधन गर्ने कोसिस गरेको उनले बताए । उनले भने, ‘क्रमशः पशुद्वारा जोत्ने देखी मेसिनेकीकरण तिर गएको बेला मेसिनको प्रयोगमा कसरी सस्तो पार्न सकिन्छ, किसानले उत्पादनमा कसरी वृद्धि गर्न सक्ने छन् भन्ने तर्फ सरकारले ध्यान दिएको छ ।’

मेसिनेकीकरणमा कस्टम हाइरिङ सेन्टर केही ठाउँहरूमा स्थापना गर्ने । मेसिनको कम ज्याला तिरेर किसानले बढी उपयोग गर्न पाउने व्यवस्था मिलाउने मन्त्री मगरले बताएका छन् । अहिले सम्मको आएको रासायनिक मल केन्द्र सरकारको आधा अनुदानमा आएको पनि जनाएका छन् । मन्त्री मगरले भने, ‘धेरै किसानलाई थाहा नहुन सक्छ रु.४६ दाम पर्ने युरिया किसानले प्रति केजी रु.२३ मा पाउँछन् ।’

सिँचाइका बिजुलीहरूमा पूर्ण रूपमा छुट कसरी गर्न सकिन्छ छलफल चलाइ रहेको साथै जहाँ जहाँ सिँचाइ छैन त्यहाँ नजिकैको खोलाहरूबाट लिप सिँचाइबाट बाह्र महिना बाली लगाउने क्षेत्रको विकास कसरी गर्नेबारे पनि छलफल भइरहेको मन्त्री मगरले बताएका छन् ।

किसानले उत्पादन गरेको बस्तु पहिले नै भाउ तोकेर, सरकारले खरिद पनि गर्दिने व्यवस्था गर्ने बताएका छन् । यस आर्थिक वर्षको बजेटमा पनि विभिन्न टाउका पालिकाहरू छानेर उत्पादन किसानको र भाउ र बजारको जिम्मा सरकारको गर्ने कार्यक्रम पनि सुरु गरिरहेको जनाएका छन् ।

विदेशबाट फर्केकाहरूलाई कृषि तालिम गराउने, रु.५ लाख सम्मको बैङ्क ग्यारेन्टी सरकारले गर्दिएर ऋण उपलब्ध गराएर ३ वर्ष सम्म ब्याज तिर्दिने कार्यक्रम पनि रहेको मन्त्री मगरले बताएका छन् । लकडाउनमा किसानले उत्पादन गरेको बस्तु नास भएकोमा सरकारले राहतको पनि व्यवस्था गरेको मन्त्री मगरले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्