प्रदेश नं. १ मा एकै दिन ४० जनाले कोरोनालाई जितेर घर फर्के


विराटनगर, ४ असार । प्रदेश १ मा आज बिहीबार ४० जनाले कोरोनालाई जितेर घर फर्केका छन् । पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन उपचार केन्द्र, सुन्दरहरैचामा उपचाररत ४० जना डिस्चार्ज भएर घर फर्केका हुन ।

डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरङका ९ र भोजपुरका ४ जना १५ देखि ४७ वर्ष उमेरका पुरुष रहेका छन् । सुन्दरहरैचाबाट डिस्चार्ज हुनेहरूलाई आज प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसद लोकप्रसाद संग्रौला, राजकुमार ओझा, सुन्दरहरैचाका प्रमुख शिव ढकाल, उपप्रमुख धना तामाङ लगायतले बिदाइ गर्नुभयो ।

अस्पतालबाट डिस्चार्ज भएकाहरूलाई बिदाइ गर्दै मन्त्री घिमिरेले प्रदेश १ मा कोरोना नियन्त्रण हुँदै गएको बताउनुभयो । प्रदेशवासीले चाँडै सुखद खबर सुन्न पाउने मन्त्री घिमिरेले बताउनुभयो । कोरोना संक्रमण अन्त्यको आधार तय हुँदै गएको उहाँले बताउनुभयो । क्वारेन्टाईनमा मात्र संक्रमण देखिएकाले चाँडै कोरोना नियन्त्रणमा आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । क्वारेन्टाईनमा मात्र संक्रमण देखिएकाले क्वारेन्टाईनलाई व्यवस्थित गर्दै लैजाने मन्त्री घिमिरेको भनाई छ । मापदण्ड विपरीतका क्वारेनटाइन बन्द गरिँदै लैजाने उहाँले बताउनुभयो ।

आज डिस्चार्ज हुनेहरू गत जेठ २२ गतेदेखि २६ गते सम्म भर्ना भएकाहरू रहेको पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायका डीन डा.शैलेशमणी पोखरेलले जानकारी दिनुभयो । प्रदेश १ मा आज ४० जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या २ सय २४ पुगेको छ । संक्रमितको संख्या ४ सय १६ रहेको छ ।
संक्रमित मध्ये २९ जना कोसी कोभिड अस्पताल विराटनगर, ८५ जना पूर्वाञ्चल विश्वविद्यालय गोठगाँउ र ७८ जना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्