चीनसँगको युद्धमा गोर्खा रेजिमेन्टलाई प्रयोग नगर्न भारतलाई विप्लवको आग्रह


काठमाडौँ, ६ असार । प्रतिबन्धित नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगर्न भारतलाई आग्रह गरेका छन् ।

उनले गोर्खा भर्ती खारेजीको माग समेत गरेका छन् । आज (शनिवार) एक विज्ञप्ति जारी गर्दै विप्लवले नेपाली युवाहरूलाई आफ्नो जन्मभूमिमा श्रम गर्न आग्रह गर्दै भारतीय सेनामा भर्ती भएर भाडाको लडाकु नबन्न पनि अपिल गरेका छन् ।

गलवान उपत्यकामा चीन भारतबिचको सीमा विवादका कारण भिडन्त हुँदा भारतीय सेना मारिएको अवस्थामा गोर्खा रेजिमेन्टमा कार्यरत युवालाई बिदा कटाएर फिर्ता बोलाउने काम भएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘त्यसले गोर्खा रेजिमेन्टलाई सिमाना पठाउने तयारी देखिन्छ तर दुई देशका बिचमा स्वतन्त्र रहेको नेपालका युवा कुनै देशको सेनामा भर्ती भएर अर्को देशविरुद्ध युद्धमा भाग लिने, एउटाका पक्षमा अर्कोका विरुद्ध युद्ध लड्नुपर्ने कुरा उचित एवम् स्वीकार्य छैन ।’

विप्लवले यो असंलग्न राष्ट्रहरूको अवलम्बन गरेको सिद्धान्तविरुद्ध रहेको पनि बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्