औजार निर्माण पुर्ख्यौली पेसामै रमाउने शेरबहादुर, गोपाल र नगेन्द्र


केशु विरही, बेलबारी, ७ असार । मोरङको बेलबारी नगरपालिका वाड नं. १० का शेरबहादुर लामगादेको पुरै समय आफ्नै औजार कारखानामा वित्नेगर्छ । प्रायजसो उनी सिरुपाते खुकुरी, कत्ती लगायतका औजार निर्माणमै व्यस्त रहन्छन् ।

लामो समयको वैदेशिक रोजगारीबाट फर्किएका शेरबहादुरको दैनिकीलाई लकडाउनले भने नयाँ मोड दिएको छ । सबैको लकडाउनले रोजगारी खोसिदिएको छ तर उनलाई भने यो विषम परिस्थितिले नयाँ अवसर पैदा गरिदिएको छ । लकडाउनमा अरू काम छाडेर उनी आजभोलि पुरै समय कृषि औजार निर्माणमा व्यस्त रहेका छन् ।
पुरानो घर तेह्रथुमको आङ्दिम रही हाल बेलबारी १० नारायण चोकमा बसोबास गर्दै आएका शेरबहादुरले आफ्नै घरमा विश्वकर्मा कृषि औजार कारखानाको समेत निर्माण गरेका छन् । उनको यो कृषि औजार निर्माण उद्योगमा खुकुरी, कत्ती, चुलेसी, दाउ लगायतका विभिन्न प्रकारका औजारहरू निर्माण हुन्छन् । गरिबीका कारणले केही समय बिदेसिनु परे पनि अहिले भने पुनः आफ्नै पुर्ख्यौली पेसामै फर्किन पाउँदा खुसी लागेको उनी बताउँछन् ।

उनी यही पेसामा भविष्य देखेर नै संस्थागत रूपमै आफूहरू लागेका बताउँछन् । यसरी निर्माण गर्ने खुकुरी, खुर्पा, कत्ती, चुलेसी लगायतका हातहतियारलाई नयाँ मोडलमा निर्माण गर्न थालेपछि उनको उद्योग अर्थात् व्यवसायमा धेरै मानिसको आँखा पर्न थालेको छ । उनले नेपालको नयाँ नक्सा समेटिएको नेपालको पूर्ण नक्सा र सातै प्रदेशको नक्सा समेटिएका खुकुरी समेत बनाएका छन् ।

सरकारले भरखरै मात्रै सार्वजनिक गरेको लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सामा सहितको खुकुरी १८ दिन लगाएको बनाएको उनले बताए । उनले बनाएका खुकुरीको मूल्य २५ सय देखी ६० हजार सम्म रहेको छ । त्यसो त यो पेसामा उनको पुरै परिवारको साथ रहेको छ । यो उद्योग समेत स्थानीय उनले गोपाल बराइली र नगेन्द्र बराइलीको साझेदारीमा काम गरिरहेका छन् ।

शेरबहादुरसँगै साझेदारीमा कारखानामा काम गर्दै आएका गोपाल बराइली भने बजारको राम्रो व्यवस्था हुन सके यो व्यवसायबाट मनग्गे आम्दानी लिन सकिने विचार राख्छन् । नक्कली सामग्री बजार लिँदा आफूहरूलाई केही मार्का परेको उनी बताउँछन् । यता शेरबहादुरकी पत्नी भने छोराहरूलाई पनि यही सीप सिकाउन चाहेको बताउँछिन् । तर आफ्नो पुर्ख्यौली पेसा सिक्न मान्ने हुन कि होईनन भन्ने पिरले उनलाई उत्तिकै सताएको छ ।

बेलबारी १० कै वीरबहादुर लामगादे आफूले थाहा पाए देखिकै यही व्यवसाय सञ्चालन गर्दै आएको बताउँछन् । उनी नाताले शेरबहादुरका पिता हुन । उनको आफ्नै औजार कारखाना छ । उमेरको उत्तरार्धमा आइपुगेका वीरबहादुर पन पुरै समय आफ्नै औजार कारखानामा भेटिन्छन् । उनी आफ्ना सन्तान पनि यही पेसामा रमाइरहेकोमा खुसी छन् ।

पुर्ख्यौली पेसा सम्हाल्दै आएका शेरबहादुर लामगादे, गोपाल बलाराईली र नगेन्द्र बराइली लगायतका युवाहरू आफ्नै पुर्ख्यौली पेसामा रमाउने सुरमा छन् । उनीहरूको एउटै ध्येय छ, आफूहरूको पेसाको संरक्षण तथा संवर्धनमा स्थानीय सरकारले सहयोग गरिदिए हुन्थ्यो ।’ पछिल्लो समय कृषकलाई आवश्यक पर्ने कृषि औजार निर्माण गर्ने मानिसहरू यो पेसाबाट विलय भइरहेको अवस्था छ । यस्तो बेलामा आफ्नै पूर्ख्यौला पेसामा भविष्य देखेर पुनः यही पेसामा केही गर्छौ भनेर कम्मर कसेका बेलबारीका शेरबहादुर, गोपाल तथा नगेन्द्र बराइलीजस्ता उत्साही युवालाई राज्य प्रोत्साहन गर्न सक्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्