अर्ग्यानिक नगर बनाउन बेलबारीमा सामूहिक गँड्यौला पालन


उत्तम पोख्रेल – बेलबारी, ७ असार / बेलबारी नगरपालिकाले प्राङ्गारिक मलको प्रयोग बढाउन सामूहिक गँड्यौला मलको उत्पादन तथा प्रदर्शन केन्द्र बनाएको छ ।

रासायनिक मलको प्रयोगले माटोको अम्लीयपना बढाउनुका साथै उत्पादनमा समेत असर पार्छ बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले भने कृषि समूहमा आबद्ध कृषकको सक्रियतामा गँड्यौलाको मल उत्पादन गर्न सिकाइरहेका छौ । बेलबारीलाई अर्ग्यानिक नगरपालिकाका रूपमा चिनाउनका लागि उत्पादन गृह तथा बिउ गँड्यौला वितरण गरिएको मेयर सुवेदीले बताए ।

उर्वराशक्ति जोगाइराख्न गँड्यौला मल फाइदाजनक मानिन्छ । ३ मिटर लम्बाई, २ मिटर चौडाइ भएको उत्पादन गृह बनाएर इज्सीना फोईटीडा जातको विशेष प्रकृतिको गँड्यौलाबाट मल उत्पादन सुरु गरिएको छ ।

घरबाट निस्कने तरकारीको फोहोर तथा करेसाबारीको झारपात गँड्यौलालाई खुवाएर छोटो समयमै स्तरीय गडयौले मल उत्पादन गर्न सकिने बेलबारी नगरपालिकाका कृषि विकास शाखाका प्रमुख विनोद दाहालले बताए । प्रत्येक वडामा एक एक वटा समूहले गँड्यौला पालन गरिरहेको नगरपालिकाको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्