निजी विद्यालय शिक्षकहरूको चेतावनी, सञ्चालकले माग पुरा नगरे कडा आन्दोलन गर्ने


एलएन गच्छदार – इटहरी, ७ असार । विद्यालय सञ्चालकहरूले शिक्षकहरूको माग पुरा नगरे कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएका छन् । सुनसरीका निजी विद्यालयका शिक्षकहरूको समस्या समाधानका विषयमा आइतबार गरेको भच्र्युवल मिटिङ निजी विद्यालयका शिक्षहरुले माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन ।

मिटिङमा शिक्षकहरूले, निजी विद्यालयका सञ्चालकहरूले कतिपय शिक्षकहरूलाई चैत्र महिनाको समेत तलब नदिएको तथा त्यस यता लकडाउनको अवस्थाको तलब नदिँदा जीविकोपार्जनमा समस्या भएको भन्दै गुनासो गरेका छन् । अभिभावकहरूबाट चैत्र महिनाको शुल्क लिए पनि कतिपय विद्यालयले शिक्षकहरूलाई भने चैत्रको समेत तलब नदिएको शिक्षकहरूको भनाइ छ । यता निजी विद्यालयका सञ्चालकहरूले भने लकडाउनको अवस्थामा शिक्षकहरूलाई तलब दिन नसकिने बताएका छन् ।

आफूहरूले अभिभावकहरूबाट शुल्क नलिएको अवस्थामा शिक्षकहरूलाई तलब दिन नसकिने उनीहरूको भनाइ छ । यता निजी विद्यालयका शिक्षकहरूले भने वर्षौँदेखि विद्यालयसँग जोडिएर काम गर्दै आएका शिक्षकहरूलाई तलब नदिँदा गुजारा गर्न नै समस्या भएको भन्दै निजी विद्यालयका सञ्चालकहरूले दिएको अभिव्यक्ति गैर जिम्मेवार देखिएको बताएका छन् । उनीहरूले वर्षौँदेखि लाखौँ, करोडौँ, नाफा कमाउँदै आएका सञ्चालकहरूले २, ३ महिना विद्यालय बन्द हुँदैमा वर्षौँदेखि काम गर्दै आएका शिक्षकहरूलाई तलब नदिनु गैर जिम्मेवार व्यवहार भएको बताएका छन् ।

मिटिङमा सुनसरीमा कार्यरत निजी विद्यालयका शिक्षकहरू, निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन र एन प्याब्सनका पदाधिकारीहरू, प्रदेश सांसद सर्वध्वज साँवा, इटहरी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख कुमारी अम्बिका शाह र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । विश्वव्यापीकरण फैलिएको कोरोना भाइरसको संक्रमणबाच बच्न नेपाल सरकारले गरेको लकडाउनका कारण निजी विद्यालयहरू बन्द भएको अवस्थामा अधिकांश विद्यालयहरूले शिक्षकहरूलाई तलब नदिँदा शिक्षकहरूले भोग्नु परिरहेको समस्या समाधानका विषयमा मिटिङ गरिएको थियो ।

यस्तै मिटिङमा आफ्नो धारणा राख्दै सुनसरीका प्रदेश सांसद सर्वध्वज साँवाले शिक्षकहरू निकै समस्यामा रहेको पाइएको भन्दै आफूले प्रदेश संसद्मार्फत शिक्षकहरूका समस्या समाधानको विषयमा आवाज उठाउने प्रतिबद्धता जनाएका छन् । यस्तै इटहरी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख कुमारी अम्बिका शाहले शिक्षकहरूले आफ्ना समस्या सुरुदेखि नै उठाएको भए बजेटमा सम्बोधन हुने सम्भावना रहेको भन्दै उहाँले समस्या समाधानका लागि सहजीकरण गर्न आफू तयार रहेको बताएका छन् । आफूले विद्यालय सञ्चालक र शिक्षकहरूलाई राखेर छलफल गराइ निष्कर्ष निकाल्न सहयोग गर्ने समेत उनले बताए ।

इटहरीका शिक्षक विद्याभुषण गुप्ताको अध्यक्षतामा शिक्षक राम गौतमले सञ्चालन गरेको मिटिङमा सुनसरी भरिका ६० जना भन्दा बढी निजी विद्यालयमा आबद्ध शिक्षकहरूको सहभागी थिए । यस्तै मिटिङमा एन प्याव्सन सुनसरी अध्यक्ष नारायण सन्जेल, इटहरी नगर अध्यक्ष गणेश कोइराला, प्याव्सन सुनसरी अध्यक्ष नेलशन भानेश्वर ढकाल, पूर्व जिल्ला अध्यक्ष सुमित थापाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्