बेलबारीमा सूर्यग्रहण अवलोकन कार्यक्रम : भ्रम निवारण गर्न स्टानको संस्थागत थालनी (फोटो फिचर)


केशु विरही – बेलबारी, ७ असार । २१ औँ शताब्दीसम्म आई पुग्दा पनि ग्रहणका विषयमा समाज भ्रममै बाँचिरहेको छ । विज्ञानले सूर्य चन्द्रमा र पृथ्वी एउटै सरल रेखामा आई पुग्दा एउटा पिण्डले सूर्यको प्रकाशमा अवरोध हुँदा हुने प्रक्रिया नै ग्रहण हो भन्ने तथ्य प्रमाणित गरिसकेको भए पनि समाज अझै पनि अशिक्षाका कारणबारे भ्रममै बाचिरहेको विद्यमान अवस्थामा ग्रहणको भ्रम निवारण गर्ने काममा युवाहरू सक्रिय भइरहेका छन् ।

ग्रहणबारे विद्यमान रहेको भ्रम चिर्ने उद्देश्यले आइतबार विज्ञान शिक्षकहरूको संस्था विज्ञान शिक्षा समाज नेपाल (स्टान) नेपाल प्रदेश न.१ ले बेलबारीमा सूर्य ग्रहण अवलोकन कार्यक्रमको आयोजना गरेर सो भ्रम चिर्ने प्रयासको संस्थागत थालनी गरेको छ । बेलबारी वाड नं. ३ मा अवस्थित गोदावरी विद्यामन्दिरको सभा हलमा आयोजना गरिएको कार्यक्रमको उद्घाटन प्रदेश. १ का सांसद राजकुमार ओझाले गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सांसद राजकुमार ओझाले २१ औँ शताब्दीमा विज्ञानको महत्त्वको बारेमा बताउँदै युवाहरूले सुरु गरेको अभियानलाई राज्यले सम्बोधन गर्ने बताए । साथै प्रदेश सरकार यस्ता संघ संस्थाहरूसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।

सो कार्यक्रममा विज्ञान शिक्षकहरूको संस्था स्टानका केन्द्रीय सूचना विभाग प्रमुख डम्मरुप्रसाद पोखरेलले स्टान नेपालबारे जानकारी दिएका थिए । २०६६ सालमा स्थापना भएको विज्ञान शिक्षा समाज नेपाल (स्टान) नेपालमा अहिले ४ तहका संरचना रहेको जनाएका छन् । स्टानको केन्द्र कमिटी, प्रदेश, जिल्ला र स्थानीय तहसम्म क्रियाशील रहेको पोखरेलले बताए । विज्ञानका शिक्षकहरू स्टान नेपालको सदस्य बन्न सक्ने प्रावधान रहेको पनि जानकारी गराएका छन् ।

स्टानका प्रदेश न. १ का संयोजक अभय लिम्बूले आफूहरू हरेक विद्यालयमा नभए पनि जिल्लामा कम्तीमा एउटा आविष्कार केन्द्रको स्थापना गर्ने गरी अघि बढेको बताएका छन् । कार्यक्रममा कबिर माविका प्रधानाध्यापक दुर्गाप्रसाद गौतम, विभिन्न विद्यालयका विज्ञान शिक्षक, विद्यार्थी तथा अभिभावक हरू लगायतको सहभागिता रहेको थियो ।

लामो समयसम्म विज्ञान विषयको शिक्षण गरेर हालसालै निवृत्त जीवन बिताइरहेका शिक्षक फणीन्द्र निरौला यो कार्यक्रमले ग्रहणबारे भ्रम चिर्ने काम गरेको बताउँछन् । उनी हरेक विद्यालयमा विज्ञान प्रयोगशालाको निर्माणमा ध्यान दिनु पर्नेमा जोड दिन्छ । कार्यक्रममा सहभागी विद्यार्थीहरू यो कार्यक्रमले आफूहरूलाई ठुलो ज्ञान मिलेको बताउँछन् । कार्यक्रममा विद्यार्थिहरु उत्साहित देखिन्थे । ग्रहण श्रापको कारणले नलागे र ग्रहण लाग्नुको वैज्ञानिक कारण बारे थाहा पाउने अवसर पाएको उनीहरू बताउँछन् ।

यो युग विज्ञान र प्रविधिको युग हो । विज्ञान प्रविधिको विकासले मात्र सही अर्थमा समृद्धि भित्राउन सकिने तथ्यलाई सबैले स्विकार्नै पर्छ । राज्यले विज्ञानको विकास विना अरू विकास फिका रहन्छन् भन्ने तथ्यलाई सबैले स्विकार्नै पर्छ । तसर्थ विज्ञान र प्रविधिको क्षेत्रमा काम गरिरहेका युवाहरूको यो योगदानलाई राज्यले विशेष ध्यान पसर्याउनु जरुरी छ ।

https://youtu.be/Tlu2sAP0SYA

प्रतिक्रिया दिनुहोस्