सामुदायिक विद्यालयका शिक्षकहरू प्रविधिमा सबल बन्दै छन : मन्त्री घिमिरे


विराटनगर, ८ असार । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयका शिक्षकहरू प्रविधिमा सबल बन्दै गएको बताउनु भएको छ । शिक्षकहरूले सामुदायिक विद्यालय प्रतिको हेराइलाई जवाफ दिएको उहाँले बताउनुभयो ।

सामुदायिक विद्यालय भन्ने बित्तिकै अंगे्रजी र प्रविधिमा कमजोर हुन्छन् भन्ने बुझाइलाई शिक्षकहरूले दर्बिलो जवाफ दिएको मन्त्री घिमिरेको भनाई छ । प्रदेश १ का शिक्षकहरूको अनलाइन परियोजना प्रस्तुति कार्यक्रममा आज मन्त्री घिमिरेको सो कुरा बताउनु भएको हो । उहाँले लकडाउनको अवधिमा सिकेका कुराहरूलाई व्यवहारमा उतार्न सुझाव दिनुभयो ।

मन्त्री घिमिरेले उत्कृष्ट प्रस्तुतिलाई सम्मान गरिने पनि बताउनुभयो । सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले शिक्षाको गुणस्तर वृद्धिमा सूचना प्रविधि तालिमले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले लकडाउनको अवधिमा शैक्षिक गुणस्तर सुधारका लागि उपलब्धिमूलक काम भएको बताउनुभयो । इक्वालिटी फाउन्डेसन अमेरिकाका कार्यकारी निर्देशक मेदनी अधिकारीले प्रविधि मैत्री विद्यालय निर्माणमा प्रदेश १ सरकारले सुरु गरेको कार्यको प्रशंसा गर्नुभयो ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले सुरु गरेको कार्यको संघीय शिक्षामन्त्री पनि प्रशंसा गरेको आफूले पाएको उहाँले बताउनुभयो । २ महिनाको अवधिमा शिक्षकहरूले सूचना प्रविधिको क्षेत्रमा ठुलो उपलब्धि हाँसिला गरेको कार्यकारी निर्देशक अधिकारीले बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयले विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधारका लागि प्रविधि मैत्री शिक्षक समाजसँगको सहकार्यमा प्रदेश १ का ६ सय शिक्षकलाई सूचना प्रविधि सम्बन्धी अनलाइन शिक्षक तालिम सञ्चालन गरेको थियो । परियोजना कार्यप्रस्तुती कार्यक्रममा ४ सय बढीको सहभागिता रहेको थियो । प्रदेश १ का विभिन्न विद्यालयका शिक्षकहरूले नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक लगायतका विषयको प्रस्तुति प्रस्तुत गरेका थिए ।
तालिममा सहभागी शिक्षकमध्ये ५० प्रतिशत बढीले परियोजना कार्य गर्न सक्ने भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्