बेलबारी मालपोतको नयाँ भवनको ताला चाबी ठेकेदारसँग, कार्यालयचैँ भाडामा


मोरङ, ९ असार । मोरङ बेलबारी नगरपालिका वाड नं. ३ मा अवस्थित नयाँ मालपोत भवनको ताला चाबी ठेकेदारसँग छ । तर कार्यालय भने पुरानै भवनमा, भाडामा सञ्चालन भइरहेको छ । नयाँ भवनको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न नभए पनि कार्यालय सञ्चालनको लागि तयारी अवस्थामा भएको मालपोत कार्यालय नयाँ भवनमा नसर्दा स्थानीय जनता आक्रोशित भएका छन् ।

कोरोना भाइरसको महामारीमा मालपोतमा हुने मानिसको भिडले स्थानीय जोहोकीलाई त्रसित बनाएको छ । सामाजिक दुरी कायम गर्नलाई पुरानो भाडामा सञ्चालनमा रहेको भवनमा पर्याप्त ठाउँ पनि छैन । ठेकेदारले नयाँ भवनको ताला चाबी बुझाउनु पनि निर्माण कार्य सम्पन्न हुनु पर्ने । तर २०७१ बाट सुरु भएको निर्माण कार्य २०७७ सम्म आइपुग्दा पनि पूर्ण रूपमा सम्पन्न भइसकेको छैन ।

नयाँ भवन २०७३ जेठ १८ सम्म काम पूरा गर्ने गरी एके एन्ड गानवा कन्स्ट्रक्सन कम्पनीलाई ठेक्का दिइएको थियो । तर ४ पटक सम्म म्याद थप गर्दा पनि निर्माण कार्य पूर्ण रूपमा सम्पन्न नभइसकेको मालपोत कार्यालय बेलबारीका पूर्व लेखा अधिकृत हरि प्रसाद कटेल बताऊ छन् ।

कूल ४ करोड ९८ लाख ८१ हजार ५ सय ४९ रुपैयाँ ६९ पैसामा एके एन्ड गानवा कन्स्ट्रक्सन प्रा.लि शान्तिनगर काठमाडौँले भवन निर्माण गर्ने ठेक्का पाएको थियो । सम्झौता अनुसार मालपोत कार्यालय बेलबारीको भवन २०७३ जेठ १८ गते हस्तान्तरण गर्नुपर्ने थियो । नाकाबन्दी तथा भूकम्प लगायतका विभिन्न कारण देखाउँदै ठेकेदारले भवन निर्माणको म्याद पटक पटक थप गरिरहेको कटेलले बताए ।

२०७१ जेठ १९ गते सम्झौता भएपछि निर्माण कार्य सुरु भएको करिब ५ वर्ष भइसकेको छ । अन्तिम पटक गरेको म्याद थप पछि ठेकेदारले कामनै नगरेको कटेलले बताए । ठेकेदारको लापरबाहीले नयाँ भवनमा कार्यालय सञ्चालन हुन नसकेको कटेल बताउँछन् । अहिले १० कट्ठा क्षेत्रफलमा रहेको नयाँ मालपोत भवनको प्राङ्गण पशु चर्ने थलो बनेको छ । ठेकेदारको लापरबाही भवन झिर्ण बन्ने अवस्था रहेको स्थानीयको गुनासो रहेको छ ।

यसरी भवन बनिसक्दा पनि भाडामै कार्यालय चलिरहँदा विभिन्न सवालहरू उब्जिएका छन् । केही दिन अघि मात्र नेकपा बेलबारीका अध्यक्ष पर्शुराम सुवेदीको नेतृत्वको नेकपाको टोलीले मालपोत कार्यालय पुगेर कार्यालय प्रमुख योगेन्द्र दुलालसँग नयाँ भवनमा कार्यालय सर्न नसक्नुको कारण बारे जानकारी लिएका थिए ।

राज्यको करोडौँको लगानीमा तयार भएको नव निर्मित भवन उपयोग विहीन हुँदा राज्यले अनावश्यक व्ययभार बोक्नु परेको कारण नयाँ भवनमा कार्यालय चाँडो सार्न आफ्नो माथिल्लो निकायमा जानकारी गर्न अनुरोध गरेका थिए ।

नेकपा बेलबारीका अध्यक्ष पर्शुराम सुवेदी मालपोतको नयाँ भवन बनिसकेको अवस्थामा अब भाडामा त्यसमा पनि कोरोना बेलामा कार्यालय भिडभाडमा सञ्चालन हुँदा जोखिम बढ्ने बताउँछन् । साथै सो टोलीले कोरोनाको संक्रमण बढिरहेको वेलामा कार्यालय सञ्चालन हुँदा नागरिकको स्वास्थ्यमा विशेष ध्यान दिन समेत ध्यानाकर्षण गराएको छ ।

मालपोत कार्यालय बेलबारीका प्रमुख योगेन्द्र दुलाल भने सहरी विकास आयोजनाले निर्माण सम्पन्नताको कागज नदिएको हुँदा कार्यालय स्थानान्तरण गर्न कठिनाइ भएको बताउँछन् । साथै उनी ताल्लुक राख्ने मन्त्रालयबाट सञ्चालन अनुमति पाए आफू नयाँ भवनमा कार्यालय सञ्चालन गर्न तयार रहेको बताए ।

उता नेपाली काँग्रेस महासमिति सदस्य महेन्द्र सुवेदी भने भवनको निर्माण कार्य पूरा भइसक्दा पनि कार्यालय नसरेकोमा दुखित भएको बताउँदै यसमा वर्तमान सरकारको असक्षमता भएको बताउन समेत पछि पर्दैनन् ।

नेकपा बेलबारी वाड नं. ३ का इन्चार्ज हेमसागर ढकालले पनि नयाँ भवनमा मालपोत कार्यालय सञ्चालनमा उत्पन्न भएको समस्या चाँडो भन्दा चाँडो निराकरण गर्न सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।

स्थानीयहरू भने जतिसक्दो चाँडो मालपोत कार्यालय नयाँ भवनमा सरोस् भन्ने चाहन्छन् । उनीहरूको एउटै माग रहेको छ काँहाँबाट गल्ती भएको छ तिनीहरूलाई कारबाही गर्दै मालपोत कार्यालय नयाँ भवनमा सर्नु पर्छ ।

जनताको करबाट बनेको नयाँ भवनमा कार्यालय नसर्दा राज्यलाई दोहोरो आर्थिक भार परेको मात्र नभर कोरोनाको जोखिम पनि त्यतिकै बढेको छ । मन्त्रालयले ठेकेदारलाई र ठेकेदारले प्राविधिकलाई दोष देखाएर अरूले भाग्ने अवस्था रहँदैन । यसमा ढिलाइ हुनुको मुख्य कारण खोजेर दोषीलाई कारबाहीको दायरामा ल्याउनु नितान्त आवश्यक छ । विभिन्न बहानामा जनतालाई मार्कामा पार्ने काम गरिनु किमार्थ उचित हैन ।

प्रतिक्रिया दिनुहोस्