श्री कृष्ण प्रणामी मन्दिरको परिचय


केशु विरही –
सुन्दरहरैचा / साबिकको इन्द्रपुर गाउँ विकास समिति वार्ड नं ५ मा र हालको सुन्दरहरैचा नगरपालिका नगरपालिका वार्ड नं ९ विराटचोकमा रहेको श्री कृष्ण प्रणामी मन्दिर तमाम नगरवासीको आस्थाको केन्द्रबिन्दु बन्न सफल भएको छ ।
 
वि.स. २०२५ मा श्रीहरिदास गजुरेलले नेतृत्वको एउटा भजन मण्डलीको स्थापना भएको थियो सोही भजन मण्डली नै आजको श्रीकृष्ण प्रणामी मन्दिरको स्वरूप लिन सफल भएको हो । उक्त अभियानमा श्रीलिलादास सुवेदी, श्रीभक्तवाई गुरु आमा, श्रीपवित्रावाई गुरु आमा, श्रीईन्द्रबाई गुरुआमाको महत्त्वपूर्ण योगदान रहेको पाइन्छ ।
 
श्री कृष्णप्रणामी मन्दिरको स्थापनामा तत्कालीन चतुर्दशी भजनमण्डलीको पनि भूमिका रहेको बताइन्छ । ९ घरबाट सुरु भएको श्री कृष्ण प्रणामी धर्मका अनुयायीहरू आज सुन्दरहरैचा मात्रै ४ सय घरभन्दा बढी रहेका छन् ।
 
वि.स. २०२९ सालमा श्री १०८ मङ्गलदास गुरुजीले आश्रमको सिलन्यास तथा आशीर्वाद गर्नु भएको थियो । श्री कृष्ण प्रणामी अनाथ सेवा आश्रम तथा प्रार्थना भवनको शिलान्यास गरिएको मन्दिरको उद्घाटन जगतगुरु आचार्य श्री १०८ धर्मदास महाराजले २०३१ मा उद्घाटन गरेका हुन ।
 
सोही अवसरमा प्रणामी धर्मका आचार्यहरूको पनि आशिर्वादको प्रतापले हाल रहेको कृष्ण प्रणामी मन्दिर बाल सेवा आश्रमको शिलन्यास एवम् उद्घाटन पनि २०३९ सालमा गुरुजी श्री १०८ मङ्गलदास महाराज जी को वरदहस्तबाट सम्पन्न भई आश्रमको पूर्ण रेखदेख, विकास तथा सम्वरणधन गर्न उहाँकै शृष्य शास्त्रार्थ हिमकल गुरुजीलाई सुम्पनु भएको थियो ।
हाल श्री कृष्ण प्रणामी मन्दिरका अतिरिक्त, प्रवचन हल, अतिथि सदन, बाल आश्रम, पाकशाला तथा भोजनालय, वृद्धा श्रम, सन्त भवन, स्मृति स्मारक, गौशाला, लगायतका भवनहरू रहेका छन् ।
 
श्री कृष्ण प्रणामी बाल सेवा आश्रमका लागि धामबासी खगेन्द्रबहादुर कार्की, लक्ष्मीप्रसाद कट्टेल, देवीप्रसाद तिम्सिना ,कर्नाखर ढकाल, हरिदास गजुरेल, नेत्रप्रसाद रिजाल, कर्नाखर रैका मगर, लक्ष्मीप्रसाद तिम्सिना र माताजी नर्वदा, सेवावाई माधवप्रसाद ढकाल लगायतका महानुभावहरूले जग्गा दान गरेका थिए ।
 
श्री कृष्ण प्रणामी मन्दिरले स्थापना कालदेखि नै रथ यात्रा निकाल्दै आएको छ । ठेलागाडिबाट सुरु गरिएको रथ यात्रा रिक्सा र साधारण गाडी हुँदै यसपालि भने काठको भव्य रथको निर्माण गरिएको थियो । यो रथ चैत्र महिनादेखि दैनिक रूपमा ७ जना मिस्त्रीहरूले नियमित रूपमा काम गरेर करिब १५ लाख जतिको लगानीमा निर्माण भएको थियो । जस्का लागि नगरपालिकाको रु १० लाख र बाँकी मन्दिर समितिले लगाएको थियो ।
 
श्री कृष्ण प्रणामी मन्दिरमा नियमित रूपमा सञ्चालन हुने श्रीमतबितक कथा एवम् श्री कृष्ण कथा चर्चा चल्दै आएकोमा यश पटकको श्री कृष्ण प्रणाामी मन्दिर देवघाटकी संस्थापकका एवम् नेपालकै प्रथम महिला श्रीमद्भागवत वाचिका सुश्री तारा माताले एक महिनासम्म चलको बितक कथा वाचन गरेकी थिइन ।
 
दधिउत्सव पश्चात् रथ यात्रा निकालिएको थियो । संस्थाका अध्यक्ष रामप्रसाद गजुरेलले आयोजकको तर्फबाट सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिएका थिए ।
साथै रथयात्राको अघिल्लो साँझ श्रीमहामति प्राणनाथ चतुर्थ शताब्दी समारोह चार सय आरतीका साथ धूमधामसित मनाइएको थियो ।

 

श्री कृष्ण प्रणामी मन्दिर सुन्दरहरैचाको रथ यात्रा – २०७५

अपरान्ह १ः३० बजे श्री कृष्ण प्रणामी मन्दिरबाट निकालिएको पुष्प सज्जित रथलाई मन्दिर परिसरबाट बाहिर निकालिएको थियो ।
 
कृष्णप्रणामी मन्दिरबाट निकालिएको रथलाई हजारौँका सङ्ख्यामा उपस्थित भएका भक्तजनको सहभागिता रहेको थियो । पुष्प सज्जित रथयात्रामा राजनीतिकर्मी, उद्योगपति, व्यापारी, शिक्षक कर्मचारी, प्रहरी, तथा सर्वसाधारण महानुभावहरूले सहभागिता जनाएका थिए । कृष्णप्रणामीका सुन्दर साथहरूका अतिरिक्त विभिन्न अन्य सम्प्रदायका र सङ्घसंस्थाका प्रतिनिधिहरू तथा सर्वसाधारणहरू स्वतःस्फूर्त रूपमा रथयात्रामा भाग लिएका थिए ।
 
युवा युवती मात्र नभएर बृद्धवृद्धा तथा स(साना केटाकेटीहरू पनि घामको प्रवाहै नगरी दिनभरि रथयात्रामा सामेल भएका थिए । रथयात्रामा सहभागी भएका पैदलयात्रीहरुलाई ठाउँठाउँमा पिउने पानीको व्यवस्था गरिएको थियो । भव्य रथलाई पूजा गर्ने मात्र नभएर दर्शन गर्नको पनि त्यतिकै भिड लागेको थियो ।
 
यात्रुलाई आवतजातमा अवरोध नहोस् भनेर पूर्व पश्चिम लोकमार्गको विराटचोकदेखि गोठ गाउँ सम्मको ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिइएको थियो । साथै पैदल यात्रुहरूको र रथको सुरक्षा व्यवस्था पनि मजबुत पारिएको थियो। रथको वरिपरि र सडकमा पनि उल्लेख्य सङ्ख्यामा स्वयम् सेवकहरू र सुरक्षाकर्मी परिचालन गरिएका थिए । गोठगाउँबाट फर्काइएको रथलाई सलकपुर हुँदै साँझ ६ः३० पुनः मन्दिरमा ल्याइएको थियो र विधिविधान अनुसार रथघरमा राखिएको थियो ।
रथ यात्रा समारोहको समापन कार्यक्रमलाई सम्बोधन गर्दै रथ यात्रा आयोजक समितिका अध्यक्ष रामप्रसाद गजुरेल र श्रीकृष्ण प्रणाामी सेवा समितिका अध्यक्ष कृष्णप्रसाद शर्मा बास्तोलाले सहभागी भएर रथयात्रालाई सफल पार्नु सहयोग पुर्यनउने सबैलाई धन्यवाद दिनु भएको थियो ।
 
 
 
 

प्रतिक्रिया दिनुहोस्